
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ कालीखोला सुर्केस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको बस दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार काठमाडौंबाट धरानतर्फ आउँदैगरेको बा प्र ०१–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. २ बसाहाका वर्ष १८ की सोनु बसेल गम्भीर घाइते भइ उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।
बसमा सवार अन्य १५ जना यात्रुहरु घाइते भइ उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा १ जनालाई थप उपचारका लागि धरान रिफर गरिएको प्रहरी उपरीक्षक चापागाईंले जानकारी दिए ।
बस चालक ओखलढुङगा चम्पादेवी गाउँपालिका वडा नं १० बस्ने वर्ष ३० को सुमन खत्रीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा खोटाङको हलेसी तुवाचुङ नपा वडा नं ९ बस्ने वर्ष ४५ कि जिना राई, संखुवासभा गोठखोला गापा वडा– ४ बस्ने वर्ष ३९ कि छिजी शेर्पा र ४० वर्षको निजको श्रीमान् निङमा शेर्पा रहेका छन् ।
यसैगरी सुनसरी भोक्रा नर्सिङ नपा वडा ४ बस्ने वर्ष ४० की माया भुजेल र निजको छोरा वर्ष ९ को सक्षम भुजेल, पाँचथर फालेलुङ गापा वडा नं ३ बस्ने वर्ष ३६ को बिरेन्द्र थाम्सुहाङ, ओखलढुङ्गा लिखु गापा वडा नं ३ बस्ने बर्ष ३२ को धनबहादुर जोगी, उदयपुर चौदण्डीगढी नपा वडा नं १ बस्ने बर्ष २७ की बिमला नेपाली पनि घाइते भएका छन् ।
त्यस्तै, खोटाङ चिसापानी गापा वडा ३ बस्ने बर्ष २३ कि कमला बस्याल, सङ्खुवासभा धर्मदेवी नपा वडा ८ बस्ने वर्ष २२ की पबित्रा कटवाल, काठमाडौ शंखरापुर नपा वडा ९ साखु बस्ने वर्ष ३५ कि लुना कार्की र निजको छोरा वर्ष ९ को आगमन कार्की, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नपा वडा नं २ बस्ने वर्ष ७० कि पदमकला राई, जिल्ला मोरङ बेलबारी नपा वडा ६ बस्ने अन्दाजी वर्ष २१ कि भूमिका कार्की र धनकुटा पाख्रिबास गापा वडा नं ५ बस्ने ३५ कि मन्दिरा तामाङ दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ ।

