२०८३ कार्तिक २७ शुक्रवार , ०८:१६:५३ बजे

Sajhamanch
'

पाथीभरा जवान तालिम शिक्षालयमा ११७ जना सशस्त्र प्रहरी जवान दीक्षित

बिहिवार, असोज २९, २०८३

झापा । सशस्त्र प्रहरी बल नेपाल, पाथीभरा जवान तालिम शिक्षालय लखनपुरमा आज बिहीबार ११७ जना सशस्त्र प्रहरी जवानलाई दीक्षित गरिएको छ ।

पाथीभरा जवान तालिम शिक्षालयद्वारा सञ्चालित सि. सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाज समारोहका बीच सशस्त्र प्रहरी जवानलाई दीक्षित गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, पाथीभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समादेशक समिक कुमार महर्जनले ११ महिनाको तालिम पूरा गरेका ११७ जना सशस्त्र प्रहरी जवान दीक्षित भएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, कार्य विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर थाडामगरको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा झापा तथा मोरङ्ग स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाली सेना २१ नम्बर बाहिनीका बाहिनीपति, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीका बाहिनीपति लगायतको उपस्थिति थियो ।

२०८२ मङ्सिर १९ गतेदेखि सुरु भएको तालिममा प्रशिक्षार्थीहरूले सैनिक अनुशासन, कवाज, शारीरिक अभ्यास तथा सुरक्षा र उद्धार सम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता हासिल गरेको बताइन्छ ।

दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानहरूले आकर्षक कवाज प्रदर्शन गरेका छन् । दीक्षित जवानहरूले दीक्षित भएपछि सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारीमा रही राष्ट्र र नागरिकको सेवा गर्नेछन् ।