
झापा । नेपालमा वार्षिक २० हजार व्यक्तिलाई सर्पले डस्ने गरेको छ भने एक हजार व्यक्ति समयमै उपचार गर्न नपुगेकै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ ।
फेयरमेड फाउण्डेशन नेपाल र सहारा नेपालको साझोदारीमा सञ्चालित संकल्प परियोजना अन्तरगत झापाको बिर्तामोडमा सर्पदंशको विषयमा भएको अभिमूखीकरण कार्यक्रममा सार्वजनिक गरिएको विवरणले सो तथ्य देखाएको हो ।
नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा पत्रकारहरुसँग सर्पंदंंश तथा उपेक्षित उष्ण प्रदेशीय रोगका विषयमा अभिमूखीकरण गर्ने क्रममा सहजकर्ता कैलाश खाकी श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार नेपालमा ८९ प्रकारका सर्पहरू पाइने भए पनि १७ प्रकारका सर्पचाहिँ विषालु रहेका छन् । सरकारी संयन्त्रले सर्पदंश उपचारमा उच्च प्राथमिकता नदिएकै कारण उपचार केन्द्रको अभावमा सर्पले डसेका कतिपय विरामीको ज्यान जाने अवस्था रहिरहेको उनको बुझाई छ ।
विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार सन् २०३० सम्ममा सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गतालाई ५० प्रतिशतले कम गराउने उद्देश्यले संकल्प परियोजनाले कार्य गरिरहेको छ ।
कार्यक्रममा सर्पदंशपछि विष फैलिन नदिन गर्नैपर्ने उपाय र गर्नै नहुने कुराहरु, सर्पदंशका लक्षण तथा चिन्हहरु, बच्ने उपायहरुका विषयमा श्रेष्ठ र विज्ञ रूशा उपाध्ययले सहजीकरण गरेका थिए ।
सहजकर्ता उपाध्यायका अनुसार नेपालमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, टेनियासिस र सिस्टोसोमिया, लुतोजस्ता उपेक्षित उष्ण प्रदेशीय रोगलाई सन् २०३० सम्ममा शून्यमा लाने लक्ष्यले परियोजनाले काम गर्दै आएको छ ।
सहारा नेपालका कोषाध्यक्ष श्याम प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको औतिथ्य माथि परियोजनाका फोकल पर्सन पवनकुमार राईले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक प्रशन्न कार्कीले गरेका थिए ।

