२०८३ कार्तिक २८ शनिवार , ०३:०७:०९ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन

सोमवार, असोज २६, २०८३

रोहित काफ्ले

भद्रपुर । नेपालमा ओझेलमा परेको हक्की खेललाई उजागर गर्दै प्रवर्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताका लागि चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक बनेको छ ।

भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा ५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि मुख्य प्रायोजक टुंगो लागेको हो ।

भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहसँग मुख्य प्रायोजक रहने गरी सम्झौता भएको आयोजक भद्रपुर नगर हक्की संघले जनाएको छ ।

समूहका अध्यक्ष अनुज खतिवडाले संस्थाको वार्षिक योजनामा समावेश गरिएको खेलकुद कार्यक्रमको शीर्षकबाट प्रतियोगितालाई सहयोग गरिएको र मुख्य प्रायोजकका रुपमा समूहले भूमिका निर्वाह गर्ने जानकारी दिए ।

भारतका तीन, बंगलादेशको एक, विभागीयसमेत नेपालका सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागितामा फाइभ–एस मोडलमा प्रतियोगिता सञ्चालन हुनेछ ।

भद्रपुर नगरपालिकासमेत विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था तथा प्रतिष्ठानहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको र विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त हुन थालेको संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद एक लाखसहित शील्ड तथा मेडल प्रदान गरिने संघले जनाएको छ ।

विजेताको पुरस्कार रकम ओम साई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दिपक पोखरेलले सौजन्य गरेका छन् भने दोस्रो पुरस्कार झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राईले सौजन्य गरेका छन् ।

आगामी कात्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी तयारी अघि बढाइएको हक्की संघका कोशी प्रदेश सदस्य खगेन्द्र ढुंगानाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।