२०८३ कार्तिक २८ शनिवार , ०२:१८:१७ बजे

Sajhamanch
'

दमकमा १० करोड लगानीमा एभरेष्ट हाइपरमार्केट सञ्चालनमा

सोमवार, असोज २६, २०८३

दमक । दमक ६ स्थित थाना रोडमा करिब १० करोड रुपैयाँको लगानीमा एभरेष्ट हाइपरमार्केट प्रालिको तेस्रो शाखा सञ्चालनमा आएको छ।

एउटै छानामुनि दैनिक उपभोग्य वस्तु, खाद्यान्न, सागसब्जी, लत्ताकपडा, जुत्ताचप्पल तथा घरायसी आवश्यकताका सामग्री उपलब्ध गराउने उद्देश्यले हाइपरमार्केट सञ्चालनमा ल्याइएको हो।

बाह्रदशी गाउँपालिका–२, जनता निवासी युवा व्यवसायी चान मोहम्मदले व्यवसाय विस्तार गर्ने क्रममा दमकमा तेस्रो शाखा सञ्चालनमा ल्याएका हुन्। बडादशैंको अवसर पारेर घटस्थापनाका दिन सञ्चालनमा आएको हाइपरमार्केटको उद्घाटन दमक नगरपालिकाका प्रमुख राम थापाले गरिदिएका हुन्।

नयाँ शाखाले दमक तथा आसपासका क्षेत्रका उपभोक्तालाई सहज, व्यवस्थित र सुविधाजनक किनमेलको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै आवश्यक वस्तु खरिद गर्न विभिन्न पसल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ।

दमकको व्यापारिक केन्द्र थाना रोडमा रहेको हाइपरमार्केट बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जनाइएको छ। लामो समयसम्म किनमेलको सुविधा उपलब्ध हुँदा उपभोक्ताले आफ्नो अनुकूल समयमा आवश्यक सामग्री खरिद गर्न सक्ने कम्पनीको विश्वास छ।

एभरेष्ट हाइपरमार्केटले झापाको राजगढबाट सुरु गरेको व्यवसायलाई बिर्तामोड हुँदै दमकसम्म विस्तार गरेको हो। उपभोक्ताको विश्वास र व्यवसायप्रतिको आकर्षण बढ्दै गएपछि तेस्रो शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। आगामी दिनमा इटहरी र काठमाडौंसम्म शाखा विस्तार गर्ने लक्ष्यसमेत कम्पनीले अघि सारेको छ।

एभरेष्ट हाइपरमार्केटको मुख्य कार्यालय झापाको बाह्रदशी गाउँपालिका–३, राजगढ बजारमा छ। कोरोना महामारीका कारण आर्थिक तथा व्यावसायिक गतिविधि प्रभावित भइरहेका बेला राजगढमा ‘सस्तो बजार’ सञ्चालन गरेर कम्पनीले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको थियो।

कम्पनीले सन् २०२१ मा राजगढमा पहिलो शाखा सञ्चालनमा ल्याएको थियो। त्यसपछि सन् २०२४ मा बिर्तामोडमा दोस्रो शाखा विस्तार गरियो। राजगढ र बिर्तामोडमा प्राप्त अनुभव, उपभोक्ताको विश्वास र बजारको सम्भावनालाई आधार बनाएर दमकमा तेस्रो शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

सम्बन्धित खबर