२०८३ कार्तिक २८ शनिवार , ०२:४४:४० बजे

Sajhamanch
'

बूढीगण्डकीमा विनाशकारी बाढी, भोटेकोशीको झल्को

आइतवार, असोज २५, २०८३

तस्वीरमा देखाइएको विद्युत् परियोजनाको सिंगो क्याम्प नै काली गण्डकीको बाढीले बगाएको छ ।

काठमाडौं । रसुवा–भोटेकोशी बाढीको डेढ महिनापछि गोरखामा पर्ने बूढीगण्डकी नदीमा पनि विनाशकारी बाढी आएको छ । कालो लेदोसहितको बाढीले पक्की पुल र बजारहरुमा समेत क्षति पुर्‍याएको छ ।

बाढीले पुर्‍याएको क्षतिको पूर्णविवरण आउन बाँकी छ । यद्यपि गोरखा जिल्लाबाट सांसद निर्वाचित भएर गृहमन्त्री बनेका सुधन गुरुङले नेपालले फेरि ‘अर्को भयावह बाढी’को सामना गर्नुपरेको बताएका छन् ।

गोरखाको उत्तरी क्षेत्रका बासिन्दाले पनि यस्तो भयावह बाढी पहिलोपटक देखेको बताएका छन् ।

बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुल बगाएको छ । पुलको गोरखातर्फको एउटा स्पान बगेको सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका २ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।

बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड छैन, हिमपहिरोको आशंका

ठूला ढुंगा नै बगाउने गरी बाढी आउनुको स्पष्ट कारण खुलिसकेको छैन । तर अधिकारीहरुले उत्तरी क्षेत्रमा हिमपहिरो गएकाले बाढीको रुप लिएको प्रारम्भिक अनुमान गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले प्रारम्भिक जानकारीअनुसार, उत्तरी क्षेत्रमा हिमपहिरो गएको र त्यसबाट आएको हिउँ, लेदो तथा अन्य पदार्थ नदीमा मिसिएर बाढी आएको हुनसक्ने अनुमान गरिएको बताए । ‘स्थानीयसँगको टेलिफोन सम्पर्कबाट यस्तो जानकारी प्राप्त भएको हो । तर बाढी आउनुको वास्तविक कारणबारे अहिलेसम्म पुष्टि भइसकेको छैन ।’

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका बरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली पनि बूढीगण्डकीको उपल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । त्यसैले वर्षाका कारण बाढी आएको भन्न सकिँदैन ।

गोरखाको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार वडा नम्बर ६ लोक्पा भन्ने ठाउँमा गएराति सुक्खा पहिरो गएर नदी थुनिएको र पछि भीषण बाढी आएको भनेर स्थानीयले भनेको जानकारी दिएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । उङगिलुङ खोला चुम्चेत क्षेत्र हुँदै बग्ने गर्छ । त्यसैले बूढीगण्डकीलाई मनास्लु हिमालबाट उत्पत्ती भएको बताइन्छ ।

बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ । बाढीले बुढीगण्डकी हाइड्रोसहित दोभानखोला हाइड्रोपावरको पनि बेलिब्रिज र घरहरू बगाएको छ ।

यता यारुखोलाको बेलिब्रिज र भवन बगाएको छ भने मुग्लिङसम्म जोखिम रहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित खबर