
अर्जुनधारा । देवीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानमा शतचण्डी महायज्ञ आयोजना गरिने भएको छ । शारदीय नवरात्र–२०८३ को अवसर पारेर विगत वर्षमा झैं यसवर्ष पनि जगदम्बा भवानीको विशेष पूजा–आरधनासहित शतचण्डी विधान अनुसार असोज २५ गते आइतबारदेखि महायज्ञ आयोजना गरिने भएको हो ।
कालिकापीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो । पूर्वमा देवीका सिद्ध शक्तिपीठमध्ये ताप्लेजुङको पाथीभरा पहिलो शक्ति र कालिकापीठ दोस्रो शक्तिको प्रतीक मानिन्छ ।
श्रीमद् मार्कण्डेय महापुराणमा उल्लेखित श्लोकमा शस्त्र–अस्त्रद्वारा सुसज्जित काली भगवतीले असूरहरुको बध गर्ने क्रममा कञ्चनजंघा हिमालबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोस्रो पाइलो कालिकापीठ कालीस्थानमा र तेस्रो पाइलो भारतको कोलकतास्थित कालीमाढीमा परेको बताइन्छ ।
२०३३ सालमा कालीकापीठमा आयोजित बृहद् आध्यात्मिक सम्मेलनमा योगी नरहरीनाथले शास्त्रमा उल्लेखित प्रमाणसहित उक्त कुरा पुष्टी गरिदिएपछि कालिकापीठको महत्व थप बढेर गएको हो ।
अर्जुनधारा–९ स्थित कालीस्थान चौकको पूर्वोत्तर कोणमा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं धार्मिक तीर्थस्थलका रुपमा परिचित उक्त सिद्ध शक्तिपीठको दर्शन–पूजनले मात्रै पनि भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ ।
नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री, गरी दुर्गादेवीका नवरुपको पूजा–आरधना गरिन्छ । देवीको महिमा उल्लेखित दुर्गा सप्तसती पाठ–पारायणसहित हविष्य भोजन ग्रहण गरी भगवतीको आरधना गर्नाले भक्तजनको मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।
धन, समृद्धि, यश, सुख, सम्पत्ती दाताको रुपमा दैवी शक्तिको विशेष पूजा–आरधना नवरात्रमा गर्ने प्रचलन छ । आसुरी शक्तिको बिनास र दैवी शक्तिको विजय उत्सवको रुपमा मनाइने शारदीय नवरात्रभर देवीको विशेष पूजा आरधना गरेपश्चात दशमीको दिन प्रसादका रुपमा मान्यजन वा ब्राह्मण गुरुहरुद्वारा आशीर्वादसहित टीका–जमरा लगाउने प्रचलन छ ।
नेपालीहरुको साझा पर्वको रुपमा मनाइदै आएको दशैं पर्व अन्तरगत यसवर्ष असोज २५ गते घटस्थापना पर्व परेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आइतबार विहान ४ बजे र ११ः४७ बजे घटस्थापनाको उत्तम साइत मानिएको छ ।

