२०८३ कार्तिक २८ शनिवार , ०२:३६:४२ बजे

Sajhamanch
'

पत्रकार राजवंशीलाई स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार

शुक्रवार, असोज २३, २०८३

बिर्तामोड । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ ।

विराट बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ३ सैनिकमोडका पूर्व उपाध्यक्ष तथा सामाजिक अगुवा स्व. सिटौलाको स्मृतिमा स्थापना गरिएको ११ हजार १११ रुपैयाँ राशिको उक्त पुरस्कार विराट बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारण सभामा सम्पादक राजवंशीलाई प्रदान गरिएको हो ।

विराट बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभामा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने एकजना व्यक्तित्वलाई योगदानको आधारमा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्दै आएको सहकारीले जनाएको छ ।

संस्थाका अध्यक्ष होमप्रसाद सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार स्थापना गर्ने दाता परिवार स्व. पर्शुराम सिटौलाकी धर्मपत्नी पुण्यवती सिटौला, छोरा शैलेन्द्र सिटौला, कार्यक्रमका प्रमुख अतिथि जेष्ठ शेयर सदस्य देवीप्रसाद ओली, संस्थाका सल्लाहकार उमानाथ ओलीलगायतले सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कृत राजवंशीको व्यक्तित्वका बारेमा सहकारी संचालक समितिका सदस्य टीकामाया लामिछानेले प्रकाश पारेकी थिइन् ।

सोही कार्यक्रममा ज्येष्ठ नागरिकहरु खेमनाथ काफ्‌ले, गोविन्द सिटौला, रानी बास्के र सम्पत्ती राजवंशीलाई पनि सम्मान गरियो ।

त्यस्तै उत्कृष्ट ऋण कारोबारी सदस्यमा ममता बराइली र बचत कारोबारमा उत्कृष्ट गौतम शाहलाई सम्मान गरियो भने वर्ष उत्कृष्ट कर्मचारीको रुपमा निशान राईलाई पुरस्कृत गरिएको थियो ।

साधारण सभामा अध्यक्ष सिटौलाले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुन न्यौपानेले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का, सहकारी संस्थाका प्रमुख सल्लाहकार मोहन शिवाकोटी, सल्लाहकारहरु उमानाथ ओली, राजकुमार पोखरेलले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष केशवराज पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अर्जुनकुमार पाठकले गरेका थिए ।

विराट बहुउद्देश्यीय सहकारी संस्थाले समीक्षा वर्षमा शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको प्रबन्धक रुद्र सिटौलाले बताए । गत वर्ष ७ प्रतिशत लाभांश वितरण गरिएकोमा यसवर्ष नाफा बढी भएकाले लाभांशमा वृद्धि गरिएको उनले जानकारी दिए ।