
शिलापत्रमा प्रयास श्रेष्ठ
काठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले पछिल्लोपटक निकै महत्त्वपूर्ण तर संवेदनशील मुद्दामा कठोर निर्णय गरेका छन् । यसअघि सस्तो मूल्यमा नै बिक्री गरिरहेका इन्टरनेट प्याकेजहरू अब नबेच्ने उद्घोष इन्टरनेट सेवाप्रदायकहरूले गरेका छन् ।
इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) यही १९ असोजदेखि कुनै पनि सस्ता र कम स्पिडका इन्टरनेट सेवाका प्याकेजहरू नबेच्ने, बिक्रीवितरण नगर्ने घोषणा गरेको छ । योसँगै आमउपभोक्ता खासगरी घरायसी प्रयोजनका इन्टरनेट सेवाग्राही प्रभावित बन्ने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालमा इन्टरनेट सब्सक्रिप्सन संख्या ३ करोड १३ लाखभन्दा बढी पुगिसकेको भने प्रयोगकर्ताहरूको संख्या लगभग १ करोड ६६ लाख पुगिसकेको तथ्यांक छ । पछिल्लो ५–६ वर्षको अन्तरालमा इन्टरनेटको पहुँच विस्तारसँगै प्रयोगमा ५६ प्रतिशतमाथिले वृद्धि भएको छ ।
यी प्रयोगकर्ताहरूमा घरायसी प्रयोगको हिस्सा ठूलो छ । तथापि, इन्टरनेट सेवा प्रदायकहरूले एकलौटी निर्णय गर्दै महँगो दरका ठूला हाइस्पिडका इन्टरनेट मात्र बिक्री गर्ने तर सस्ता प्याकेज नबेच्ने निर्णय गर्दा यो समूहको उपभोक्ताहरू प्रभावित बन्ने देखिन्छ ।
इन्टरनेटमा दजनौँ सेवाप्रदायक कम्पनी आएसँगै इन्टरनेटको पहुँच र विस्तार आज गाउँगाउँमा पुगेको छ । तर, निजी सेवाप्रदायकहरूको पछिल्लो निर्णयले आमउपभोक्ताहरू सेवा शुल्क बढ्ने भयमा देखिन्छन् ।
निजी कम्पनीहरू मिलेर मूल्यमा कार्टेलिङ गर्न खोजेका हुन् ?
निजी इन्टरनेट सेवाप्रदायकहरूको छाता संगठन ९आइस्पान०ले बढ्दो महँगीका कारण खर्च धान्नै नसक्ने अवस्था आएपछि बाध्य भएर सस्ता इन्टरनेटका प्याकेजहरू बन्द गर्नुपरेको दाबी गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण, पछिल्ला वर्षमा भएको मूल्यवृद्धि फाइबर तथा विद्युतीय उपकरण महँगिएको र ब्यान्डविथको शूल्क वृद्धिलगायत डलरको भाउ वृद्धिका कारण समेतले सस्ता प्याकेज बन्द गर्नुपरेको उनको तर्क छ ।

१६ असोजमा विज्ञप्ति जारी गर्दै आइस्पानले भनेको छ, ‘इन्टरनेट सेवाप्रदायकहरूको सञ्चालनसमेत चल्न सकस भएको हुँदा सेवाप्रदायकहरूले दिँदै आएको सुपथ मूल्यका र कम गतिका प्याकेजहरू आगामी १९ असोज २०८३ सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएको विनम्र अनुरोध गर्दछौँ ।’
यसरी इन्टरनेट सेवाप्रदायकहरूले सामूहिक रूपमा सस्तो प्याकेज बन्द गर्ने उद्घोष गरेसँगै इन्टरनेट सेवाग्राहीहरूमा शुल्क बढ्नेमा आशंका पैदा गराएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले अब ५० एमबीपीएस भन्दा कम स्पिडका इन्टरनेट प्याकेज नबेच्ने घोषणा गरेका छन् । यसले कतै निजी कम्पनीहरू मिलेर इन्टरनेटमा कार्टेलिङ त गर्न खोजिरहेका छैनन् रु प्रश्न स्वाभाविक उठेको छ ।
‘सेवा शुल्क बढ्दैन, उपभोक्तालाई घाटा पर्दैन’
त्यसो त निजी इन्टरनेट सेवाप्रदायक सुबिसु केबलनेटका सञ्चालकसमेत रहेका आइस्पानका अध्यक्ष सुधिर पराजुली सस्तो प्याकेज बन्द गर्दैमा सेवाग्राहीमा महँगो नपर्ने दाबी गर्छन् ।
उनले भनेका छन्, ‘हामीले सस्तो प्याकेजमा उत्कृष्ट सेवा दिए पनि सेवाग्राहीहरू त्यो पाइरहेका छैनन् । बीचमा रहेका वितरक कम्पनीहरूले, एजेन्टहरूले सस्तो प्याकेजलाई मनलाग्दी मूल्य राखेर बेचिरहेका छन् । जसले हामी सेवाप्रदायकसँगै उपभोक्ताहरूलाई ठगिरहेका छन् । यसलाई नियन्त्रण गर्न हामीले सस्तो प्याकेज बन्द गर्ने निर्णय गरेका हौँ ।’
५० एमबीपीएसभन्दा कमका प्याकेज बेच्दा सधैँ गुनासो मात्र आउने गरेको बताउँदै पराजुलीले यसको कारण बिचौलिया रहेको आरोप लगाए ।
‘इन्टरनेट सेवामा धेरै नै विकृति बढेको महसुस भयो । गुणस्तरीय इन्टरनेट प्रदान गर्दागर्दै पनि बिक्रेताहरूले महँगोमा कमसल सेवा प्रवाह गरे । यसको असर सधैँ हामीले अपजस खानुपर्यो । यसो हुनुभन्दा बरु सस्तो प्याकेज नै नबेच्ने निर्णय गर्यौँ,’ उनले भने । तर, यसो गर्दा उपभोक्ता अर्थात् सेवाग्राहीलाई सेवा शुल्क महँगो नपर्ने उनको दाबी छ ।
‘५० एमबीपीएसभन्दा बढीको प्याकेज लिनुस्, बकाइदा भ्याट बिल माग्नुस्, मूल्यमा फरक पर्दैन,’ पराजुलीले भने, ‘बजारको चुहावट र ठगी नियन्त्रणका लागि पनि यस्तो निर्णय फलदायी हुन्छ । तर, सेवाग्राहीलाई थप आर्थिक भार पर्दैन ।’
अहिले सस्तो प्याकेज बन्द गर्दा उपभोक्ताभन्दा पनि बीचका वितरकहरू रिसाएको उनको भनाइ छ । सेवाग्राहीहरूले भने पहिलेकै दररेटमा गुणस्तरीय इन्टरनेट चलाउन पाउने उनले दाबी गरे । नियामक दूरसञ्चार प्राधिकरणलाई बुझाएको न्यूनतम दररेटअनुसार ५० एमबीपीएसको सरदर मासिक १ हजार एक सय रुपैयाँबराबर छ । सोही दररेटमा इन्टरनेट उपलब्ध हुने पराजुलीले बताए ।
शुल्क बढाउने वा प्याकेज खारेजीको कुनै जानकारी छैनः प्राधिकरण
यता नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने सस्ता इन्टरनेट प्याकेज खारेज गर्ने वा नबेच्नेबारे निजी सेवाप्रदायकहरूले गरेको घोषणाबारे जानकारी नभएको जनाएको छ । यसबारे प्रश्न गर्दा प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले आधिकारिक रूपमा जानकारी नआएको तर समाचारबाट आफूले थाहा पाएको बताए ।
‘अहिलेसम्म सेवाप्रदायकहरूबाट आधिकारिक जानकारी आएको छैन,’ उनले भने, ‘तर, ऐनमै भएको व्यवस्थाअनुसार इन्टरनेटको दररेट फरक पार्न पाउँदैनन् । यदि त्यसो हो भने प्राधिकरणलाई जानकारी दिनुपर्छ ।’
दूरसञ्चार ऐन, २०५३ बमोजिम कुनै पनि इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले उपभोक्तासँग लिने शुल्कको दररेट स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था छ । यस्तो शुल्क लागतका आधारमा तय गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।
उदाहरणका लागि देशभर पहुँच विस्तार भएको वर्डलिंकका लागि ५० एमबीपीएसको न्यूनतम ९५० रुपैयाँदेखि १०० एमबीपीएसको मासिक १ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । सोही दररेटअनुसार कम्पनीले सेवा प्रवाह गर्नुपर्छ । यदि यो दररेटभन्दा बढी मूल्य लिए उजुरी गर्न सकिने निर्देशक अर्यालको भनाइ छ ।
‘कुनै ग्राहकले लिइरहेको सुविधा कटौति गर्न वा सेवाबाट वञ्चित गर्न पाउँदैनन् । सुविधा थप्ने कुरामा कम्पनीहरू स्वतन्त्र छन् । यदि मूल्य समायोजन गर्ने हो भने सोबारे प्राधिकरणलाई जानकारी गराउनुपर्छ । स्वीकृत दररेटभन्दा बढी शुल्क वा मूल्य लिएको गुनासो आए हामीले कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने ।
कम्पनीहरूलाई स्वीकृत दररेट सेवाग्राहीहरूले थाहा पाउने गरी देखिने गरी सार्वजनिक गर्न पनि निर्देशन दिएको निर्देशक अर्यालले बताए ।

