
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन कार्यतालिकामा फेरबदल आएको छ । प्राविधिक कारण अब भोलि शुक्रबार बिहान ७ बजेदेखि मात्र मतदान हुनेछ ।
कांग्रेसको निर्वाचन समितिले पत्रकार सम्मेलनमार्फत निर्वाचनको प्रक्रियाबारे जानकारी गराएको हो । कांग्रेसमा धेरै क्लस्टर हुँदा मतपत्र छपाइको काममा विलम्ब भएकाले पटक पटक मतदानको समय सार्नुपरेको हो ।
यसअघि आज बिहीबार बिहान १० बजे, त्यसपछि १ बजे, त्यसपछि साढे २ बजेदेखि मतदान सुरु हुने भनिएको थियो । तर मतपत्र समयमै नछापिँदा आज मतदान हुन नसकेको हो ।
कांग्रेसमा आजै राति मतदान गर्ने कुरा उठे पनि धेरै महाधिवेशन प्रतिनिधिले महाधिवेशनस्थल छाडेका कारण अब शुक्रबार बिहान मात्र मतदान सुरु हुने बताइएको छ ।

