
काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ।
राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरुको सहभागिता रहने छ ।
पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जनाएका छन् ।
बैठकले मधेश प्रदेश सभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनब खातुनको निधन भएको हुँदा उक्त रिक्त स्थानमा मापदण्ड अनुरुप क्रम सङ्ख्या ४२ तथा बन्दसूचीको क्रम ४० मा रहेकी समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि गरेको छ ।
बैठकले अध्यक्ष पद रिक्त रहेका पार्टीका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।

