
बिर्तामोड । सिम्रिक साकोस लिमिटेडले १६औं वार्षिक साधारणसभा अन्तरगत आज सातौं इकाईगत साधारण सभाहरु बिर्तामोडमा सम्पन्न गरेको छ । आज बिर्तामोड नगरपालिका भित्रका ४ वटा सेवा केन्द्रका सदस्यहरुमाझ सभा सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको इकाईगत साधारण सभामा उहाँले वार्षिक प्रगति प्रतिवेदन वाचन गर्नुभएको थियो ।
प्रतिवेदन अनुसार संस्थाले ७१ हजार २४६ सेयर सदस्यहरुको वित्तीय आवश्यकता पूरा गरिरहेको छ । गत असार मसान्तमा संस्थाको सेयर पूँजी ३७ करोड ३९ लाख ४ हजार ५०० पुर्याइएको छ भने संस्थाको मेरुदण्ड मानिने कोषहरुमा १३ करोड ४२ लाख ६७ हजार २७१ रुपैयाँ जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।

सिम्रिक साकोसले समीक्षा वर्षमा आयकर पछिको नाफाबाट शेयर बोनस बाँडफाँडका लागि बोनस कोषमा १ करोड ३ लाख १८ हजार ३७० रुपैयाँ छुट्याएको छ । यसैगरी, संस्थाले संरक्षित पूँजी फिर्ता कोषमा ५७ लाख ७० हजार ९०० रुपैयाँ र कर्मचारी बोनसका लागि ४० लाख ८८५ रुपैयाँ छुट्याइएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त अवसरमा प्रत्येक सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र एक जना उत्कृष्ट ऋण कारोबारी सदस्य गरी आज ८ जनालाई सम्मान गरिएको छ । बिर्तामोड, गरामनी, बिर्ताबजार र शनिश्चरे रोड सेवाकेन्द्रका उत्कृष्ट १/१ जना बचतकर्ता तथा ऋणी गरी ८ जना सदस्यलाई मायाको चिनो तथा सम्मान–पत्रद्वारा सम्मान गरिएको छ।

यस्तै, संस्थाले सञ्चालन गरेको सदस्य राहत कोषमा आवद्ध सदस्य र तिनको परिवारको स्वास्थ्य उपचारमा भएको खर्चको तोकिएको प्रतिशत राहत सुविधा पनि हस्तान्तरण गरियो ।
इकाईगत साधारण सभामा सदस्यहरुले उठाएका विभिन्न जिज्ञासाहरु माथि कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रष्ट पारेपछि सर्वसम्मतिले प्रतिवेदन पास गरिएको थियो ।

आजबाट सिम्रिकले सम्पूर्ण सेवा केन्द्रका सदस्यहरुमाझ इकाइगत र उपइकाइगत साधारण सभा सम्पन्न गरेको छ भने भने असोज २३ गते अन्तिम माइन्युट प्रमाणीकरण गरिने छ ।

