
युएई । नेपालीहरुको महान् चाडहरु दशैं, तिहार र छठ पर्वको पूर्व सन्ध्यामा मधेशी एकता समाज, युएईले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
दुबईको जबिल पार्कमा समाजको युएई च्याप्टरका पदाधिकारीहरुले आसन्न मुख्य चाडपर्वहरु सन्दर्भमा शुभकामना साटासाट गरेका हुन् ।
त्यस अवसरमा युएई च्याप्टरका पदाधिकारीहरुले मातृभूमि नेपालको रसुवा र नुवाकोट जिल्लामा भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख र समवेदना पनि प्रकट गरे ।
उनीहरुले समाजको अन्तर्राष्ट्रिय समितिको पहल र संयोजनमा तराई मधेशका विभिन्न जिल्लामा बाढी पीडितका लागि जारी राहत वितरण कार्यबारे पनि चर्चा र समीक्षा गरेका थिए ।
त्यसैगरी एकता समाजका पदाधिकारीहरुले उक्त संस्थालाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको युएई च्याप्टरका महासचिव आदित्यकुमार अटलले जानकारी दिए ।
कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्रकुमार यादवले एकता समाजको उद्देश्य, हालसम्म संस्थाले समाजका विभिन्न क्षेत्रमा पुर्याउँदै आएको सहयोग तथा आगामी दिनमा संस्थालाई अझ मजबुत र प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा विस्तृत रूपमा प्रकाश पारेका थिए ।
उनले एकता, सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थाको मुख्य मन्त्रको रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा समाजका युएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहिबार, निवर्तमान अध्यक्ष रोशन देव, वर्तमान अध्यक्ष शैलेन्द्र यादव, संस्थापक सदस्यहरू लालबाबु, तनवीर आलम लगायतका पदाधिकारी तथा सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
त्यस अवसरमा संस्थाको आगामी कार्यलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले आदित्यकुमार अटललाई समाजको युएई शाखाको महासचिवको जिम्मेवारी सर्वसम्मत रुपमा प्रदान गरेको छ ।

