
झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला कार्यसमिति झापाको अध्यक्षमा राजा आङ्थुपो निर्वाचित भएका छन् ।
आज शनिबार बिर्तामोडमा भएको आठौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि आङ्थुपो अध्यक्षमा निर्वाचित भएका हुन् । जिल्ला कार्यसमितिको उपाध्यक्षमा करण योङहाङ, तीर्थराज पौडेल, सचिव कृष्णबहादुर लिम्बू, मकर लिम्बू, विद्या तुम्बापो, सह–सचिव तीर्थ पोमु, कोषाध्यक्ष विवेक साम्सुहाङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा उमानाथ दमाई, भवानी तुम्बापो, आशिष तुम्बापो, तेजु आङ्देम्बे, सुशान्त साम्पाङ, विचारी लावती, योगेन्द्र माबो, लीलानाथ आङ्देम्बे, रबिहाङ आङ्देम्बे सर्वसम्मत निर्वाचित भएका जनाइएको छ ।
मञ्चका झापा अध्यक्ष आङ्थुपोको अध्यक्षतामा भएको अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले उद्घाटन गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले प्रदेश नं. १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सरकारले लागू गर्नु लिम्बुवान आन्दोलनको उपलब्धि भएको बताए ।
उनीहरुले लिम्बुवान आन्दोलनले सार्थकता पाउन लागेको भन्दै लिम्बुवान प्राप्तिको पहिलो चरणको ढोका खुलेकोमा खुशी व्यक्त गरे । पहिचानको आधारमा प्रदेशको नामकरण, समानुपातिक र समावेशी प्रतिनिधित्व नभएसम्म लिम्बुवानको आन्दोलन नरोकिने उनीहरुको भनाई थियो ।


