२०८३ कार्तिक १ शनिवार , ०३:०८:३४ बजे

Sajhamanch
'

फ्लाइ दुबईको विमानभित्र ५ मिनेटमा जे भयो, यात्रुले जोगाए १७४ जनाको ज्यान

बिहिवार, असोज १५, २०८३
  • रोयटर्स

साउदी अरब । ३३ हजार फिटमाथि उडिरहेको फ्लाई दुबईको एफजेड–१०७३ जहाजले करिब साढे २ घन्टापछि अचानक उचाइ गुमाउन थाल्यो।

बुधबार १७४ यात्रु लिएर दुबईबाट इजरायलको राजधानी तेल अविभ उडेको विमानले उडानको करिब साढे २ घन्टापछि अचानक उचाइ गुमाउन थालेपछि विमानभित्र यात्रुहरूमा हल्लाखल्ला मच्चिएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विमान ३० सेकेन्डमै झन्डै १४ हजार फिट तल झरेको थियो। त्यसपछि उचाइ लिने र फेरि झर्ने क्रम चलेको थियो।

दुई मिनेटको अवधिमा जहाज करिब १७ हजार फिट तल झरेको थियो। विमानमा सवार केही यात्रुहरू चिच्याउन थालेका थिए। केही अत्यासले आफू बसेको सिटमै कक्रिएका थिए।

अकास्मात ककपिट छिर्ने ढोका खुल्यो। केही यात्रुहरू ककपिटभित्रै छिरे। ककपिटभित्रको दृश्य भयावह थियो।

मुख्य पाइलटमाथि को पाइलटले चक्कु प्रहार गरेका थिए । उनी ककपिटको भुइँमा ढलेका थिए ।

यात्रु र चालक दलका सदस्यहरूले को पाइलटलाई नियन्त्रणमा लिए। त्यसपछि त्यहीँ भएका अर्का पाइलटले झन्डै झन्डै नियन्त्रण गुमाइसकेको जहाजको ककपिट सम्हाले र नियन्त्रणमा लिएर साउदी अरबको विमानस्थलमा आकस्मिक अवतरण गराउन सफल भए।

यसरी ठूलो दुर्घटना हुनबाट जोगिएको थियो फ्लाइ दुबईको उक्त जहाज।

जहाजभित्रको घटनाको नालीबेली यानिभ नाम गरेका यात्रुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई सुनाएका छन्। यानिभ ककपिट भित्र प्रवेश गर्नेमध्येका एक यात्रु हुन्।

ककपिट भित्र प्रवेश गर्दा भयावह दृश्यको सामना गर्नुपरेको उनी बताउँछन्। विमानले लगातार उचाइ गुमाउँदै थियो भने मुख्य पाइलट रक्ताम्य अवस्थामा भुइँमा ढलेका थिए।

मुख्य पाइलट भारतीय नागरिक स्मिथ मच्छर थिए। उनले घाइते अवस्थामै ककपिटको ढोका खुल्ने प्रणाली चलाउन सफल भएका थिए।

‘जब म भित्र गएँ, आक्रमणकारी दुई सिटको बीचमा थियो। पाइलटहरू आफ्नो सिटमा थिएनन्। एक जना तल लडिरहेका थिए र अर्का उपकरण नजिक थिए’ यानिभले भनेका छन्।

आक्रमणकारी कोपाइलटलाई उनैले समातेर ककपिटबाहिर तानेका थिए। ती कोपाइलट ककपिटभित्र अरू उपकरण र प्रणाली निष्क्रिय पार्ने प्रयास गरिरहेका थिए।

यानिभले त्यसपछि विमानका अरू यात्रुहरूलाई पनि सहयोगका लागि बोलाएका थिए। अरू यात्रुहरू पनि आएपछि उनीहरूले कोपाइलटलाई नियन्त्रणमा लिन सफल भए।

अर्का यात्रु ज्विका मेनेसले ती कोपाइलटलाई विमानभित्रै रहेको जिप टाइ र हेडफोनका तारले बाँधेर राखिएको बताएका छन्।

त्यस क्रममा तीन चार जना यात्रुहरूलाई पनि चोट लागेको थियो।

उता विमानको उचाइ भने घटिरहेको थियो।

रोयटर्सका अनुसार उक्त जहाजमा संयोगले दुई पाइलट यात्रुकै रूपमा सवार थिए। मुख्य पाइलट घाइते भएपछि उनीहरू ककपिटमा प्रवेश गरी विमानको नियन्त्रण सम्हालेका थिए।

विमान त्यसपछि इजरायलतर्फ जान छाडेर साउदी अरबको ताबुकतर्फ मोडिएको थियो। त्यहाँ सुरक्षित अवतरण गरियो।

ताबुक विमानस्थलले विमानमा रहेका दुवै पाइलट घाइते भएको जनाएको छ।

इसराइली एम्बुलेन्स सेवाका अनुसार एक ५१ वर्षीय पुरुषलाई शरीरको माथिल्लो भागमा चोट लागेकाले अस्पताल लगिएको थियो।

अर्का यात्रु ओरान कोएनले घटना करिब पाँच मिनेटजति चलेको बताए। तर त्यो समय आफूलाई निकै लामो लागेको उनको भनाइ छ।

‘त्यो क्षणमा मलाई कस्तो लाग्यो भनेर भन्न सक्दिनँ। मैले पछाडि मेरो भाइले हामी मर्दै छौं भनेर चिच्याएको सुनेँ,’ उनले भने।

ताबुकमा अवतरण भएपछि पनि यात्रुहरू लामो समय विमानमै रहे।

१० घन्टाभन्दा बढी समयपछि उनीहरूलाई अर्को फ्लाई दुबई विमानबाट तेल अभिभको बेन गुरियन विमानस्थल पुर्‍याइएको थियो।

त्यहाँ उनीहरूलाई स्वागत गर्न मानिसहरू जम्मा भएका थिए।

विमानबाट ओर्लिँदा केही यात्रु भावुक देखिएका थिए भने केही रोइरहेका थिए। इजराइली झन्डा बोकेका मानिसहरूले उनीहरूलाई स्वागत गरेका थिए।

ककपिटमा पुगेर आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेका यानिभलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विमानस्थलमै भेटेका थिए। उनको रगत लागेको कमिज देखेर नेतन्याहुले त्यो रगत आक्रमणकारीको हो कि भनेर सोधेका थिए।

यानिभले ‘हो’ भनेपछि नेतन्याहुले उनको साहसको प्रशंसा गरेका थिए।

विमानभित्रको घटनाबारे फ्लाई दुबईले ककपिटमा ‘झडप’ भएको पुष्टि गरेको छ।

झडप हुँदा ककपिटभित्रका विभिन्न सूचना पठाउने प्रणाली सक्रिय भएका थिए।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानले सुरुमा ‘७७००’ कोड प्रसारण गरेको थियो। यो सामान्य आपत्कालीन अवस्थाको संकेत हो।

त्यसपछि विमानले ‘७५००’ कोड प्रसारण गरेको थियो। यो विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको आशंका जनाउने संकेत हो। पछि फेरि ‘७७००’ कोड प्रसारण गरिएको थियो।

इजराइली सेनाका अनुसार आपत्कालीन संकेत आएपछि इजराइली वायुसेनाका लडाकु विमानहरू पनि परिचालन गरिएका थिए।

कम्पनीले भने चक्कु प्रहारको घटनाको कारण तत्काल प्रष्ट नभएको जानकारी गराएको छ।

इजराइली अधिकारीहरूले को पाइलट ओमानी नागरिक रहेको बताएका छन्।

उनले किन पाइलट माथि आक्रमण गरे र विमान दुर्घटना गराउन खोजेको थियो कि थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

इजरायलले घटनापछि आफ्नो देशमा उडान भर्ने पाइलटको पहिचान र सुरक्षा जाँच अझ कडा बनाउने जनाएको छ।

सम्बन्धित खबर