
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।
कांग्रेसको संस्थापन पक्षले १८ असोजदेखि हुने १५औं महाधिवेशनको तयारी गरिरहेकैबेला देउवा समूहले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
देउवा समूहले पनि १५औं महाधिवेशन आगामी २१–२३ मंसिरका लागि तोकेको छ । सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।
सो समूहले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिएका छन् ।
कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो तर संस्थापन पक्ष भने यही ३ असोजदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो ।
देउवा पक्षले आजदेखि सुरु गर्न लागेको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ ।
सो समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरुलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् ।
देउवा पक्षीय समूहका केन्द्रीय नेताहरु १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएका छैनन् । तर जिल्लास्तरमा एकाध बाहेक सबै संस्थापन पक्षको महाधिवेशनमा सहभागी भए ।
चाखलाग्दो कुरा के छ भने, वडा-पालिका र क्षेत्रीय समितिमा काम गर्ने तथा निर्वाचनबाटै चुनिएर महाधिवेशन प्रतिनिधि बन्ने भनी उम्मेदवार बनेर मतदान पछि पराजित भएका सबै आजदेखि हुने अर्को पक्षको महाधिवेशनमा होमिने छन् भन्ने इतर पक्षको विश्वास छ । यो अपेक्षा र विश्वास कति हदसम्म पूरा होला ! यो त समयक्रमले बताउने नै छ ।


