२०८३ कार्तिक १ शनिवार , ०२:४९:०६ बजे

Sajhamanch
'

सिम्रिक साकोसले फिक्कल र बेलबारीमा सम्पन्न गर्यो उपइकाइगत साधारण सभा

बुधवार, असोज १४, २०८३

फिक्कल (इलाम) । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा अन्तरगत आजबाट उपइकाईगत साधारण सभाहरु सुरु भएका छन् । आज इलामका ४ वटा र मोरङ जिल्लाका ४ वटा सेवा केन्द्रको उपइकाईगत साधारण सभा सम्पन्न गरिएको हो ।

एउटै कार्यसूचीमा फिक्कलको मानेक्याम फुटसल र बेलबारीको बुद्धिस्ट गुम्बामा उपइकाइगत साधारण सभा सञ्चालन गरिएको हो । उक्त अवसरमा प्रत्येक सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र एकजना उत्कृष्ट ऋण कारोबारी सदस्य गरी आज १८ जनालाई सम्मान गरिएको छ ।

संस्थाले झापामा २४ वटा, इलाममा १० वटा, मोरङमा ९ वटा र पाँचथरमा एउटा गरी ४४ वटा सेवाकेन्द्र मार्फत् ७१ हजार २४६ सेयर सदस्यहरुको वित्तीय आवश्यकता पूरा गरिरहेको जनाइएको छ ।

उपइकाइगत साधारण सभा अन्तरगत भोलि १५ गते पाँचथर जिल्लाको फिदिम र झापा जिल्लाको राजगढमा उपईकाइगत साधारणसभा गरिने जनाइएको छ । फिदिममा एउटा सेवाकेन्द्रका सदस्यहरु र राजगढमा गोलधाप र राजगढ सेवा केन्द्रका सदस्यहरु सहभागी हुनेछन् ।

उपइकाईगत साधारण सभामा संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की, विभागीय प्रमुख विजय बस्नेत लगायतले आ–आफ्ना प्रतिवेदन र जिम्म्ेवारी पूरा गरेका थिए ।

समीक्ष वर्षमा संस्थाको सेयर पूँजी ३७ करोड ३९ लाख ४ हजार ५०० पुर्याइएको छ भने संस्थाको मेरुदण्ड मानिने कोषहरुमा १३ करोड ४२ लाख ६७ हजार २७१ रुपैयाँ जम्मा भएको छ ।

संस्थाले सदस्यहरुबाट २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८०५ रुपैयाँ निक्षेप तथा बचत स्वीकार गरेको छ भने कर्जा सापट शीर्षकमा १७ करोड ३८ लाख ९ हजार २९२ रुपैयाँ बाह्य ऋण लिएको छ ।


साधारण सभामा वितरण गर्न प्रकाशित संस्थाको वार्षिक प्रतिवेदन अनुसार सिम्रिक साकोसले सदस्यहरु माझ २ अर्ब ९२ करोड ५० लाख ५४ हजार ९०१ रुपैयाँ ऋण लगानी गरेको छ भने ५७ लाख ७ हजार ५०० रुपैयाँ शेयर लगानी गरेको छ ।

समीक्षा वर्षमा संस्थाले सञ्चालन मुनाफा ५ करोड ७३ लाख ३४ हजार ९५७ रुपैयाँ गरेको भए पनि सम्भावित कर्जा नोक्सानी ब्यवस्थामा ४ करोड ५१ लाख २५ हजार ६१८ रुपैयाँ घटेर नाफा न्यून भएको छ ।

यद्यपि अघिल्ला वर्षहरुमा व्यवस्था गरिएको सम्भावित कर्जा नोक्सानी रकम २ करोड ७७ लाख ९९ हजार ५०६ रुपैयाँ फिर्ता भएपछि ४ करोड ८ हजार ८४५ रुपैयाँ नाफा गरेको छ । तर कर्मचारी बोनस, आयकर आदि वितरण गर्दा खुद मुनाफा ३ करोड ४८ लाख ७ हजार ८९५ रुपैयाँ मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

सिम्रिकले गत असार मसान्तमा ३ अर्ब ५४ करोड १० लाख १४ हजार ३२६ को वासलात बनाएको छ ।

सम्बन्धित खबर