
रोहित काफ्ले
झापा । अन्तर्राष्ट्रिय जगतमा निकै लोकप्रिय रहेको तर नेपालमा ओझेलमा परेको हक्की खेललाई उजागर गर्दै प्रवर्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता गरिने भएको छ । आयोजक भद्रपुर नगर हक्की संघले प्रतियोगिताको तयारी सुरु गरिसकेको छ ।
प्रतियोगिताको तयारीस्वरुप नै संघले पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविमा सर्वपक्षीय बृहत भेला आयोजना गर्यो । भेलामा प्रतियोगिता सफल बनाउन गर्न सकिने क्रियाकलाप र योजनाहरुका सम्बन्धमा बृहत छलफल भएको थियो ।
संघका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष, युवा समाजसेवी, खेलप्रेमी राजकुमार राई तथा बिर्तामोड नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रसमेतको उपस्थितिमा आयोजित भेलाले प्रतियोगिता लक्षित विभिन्न उपसमिति गठन गरेको छ ।
हक्कीका झापाली खेलाडीहरुको पनि उल्लेख्य सहभागिता रहेको भेलाले संघका अध्यक्ष बस्नेतकै संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । अनिल ढुंगानाको संयोजकत्वमा सल्लाहकार समिति, संघका उपाध्यष पदम निरौलाको संयोजकत्वमा आर्थिक उपसमिति, दिपक खतिवडाको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिति, पुष्कर अधिकारीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, रविन सुनुवारको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपसमिति, रोहित काफ्लेको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, खगेन्द्र ढुंगानाको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन उपसमिति र दिपेन्द्र कटुवालको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरेको छ ।
हक्कीको राष्ट्रिय टोलीमा पनि समावेश भएका खेलाडीहरु रहेको भद्रपुर ९ को पुहाँतु जनज्योति माविको पश्चिमपट्टि रहेको खेल मैदानमा आगामी कात्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी तयारी अघि बढाइएको हक्की संघका कोशी प्रदेश सदस्य खगेन्द्र ढुंगानाले जानकारी दिए ।
भारतका तीन, बंगलादेशको एक, विभागीयसमेत नेपालका सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागितामा फाइभ–एस मोडलमा प्रतियोगिता आयोजना हुने संघका अध्यक्ष बस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद एक लाखसहित शील्ड तथा मेडल प्रदान गरिने संघले जनाएको छ ।
बढ्दो लागुऔषधको दुव्र्यसनबाट युवालाई जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्यसमेत जोडिएको यो प्रतियोगिताले हक्की खेलप्रति आमदर्शक खेलकुदप्रेमीहरुको ध्यान आकर्षित भई हक्की प्रवर्धनमा सहयोग पुग्ने विश्वास पनि लिइएको अध्यक्ष बस्नेतको भनाइ छ ।
प्रतियोगिताका लागि प्रस्तावना तयार गरी विभिन्न सरकारी–गैरसरकारी निकाय तथा औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरुलाई वितरण गरिँदै आएको र ती क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पनि पाइएको संघले जनाएको छ ।


