
कमल । उद्यमशील महिला जागरण केन्द्रको आठौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाको सभाहलमा गरिएको साधारण सभाले वार्षिक गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजना माथि छलफल गर्दै पारित गरेको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष शान्ता उप्रेती दाहालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्थाले स्थापनाकालदेखि महिला सशक्तीकरण, उद्यमशीलता विकास, आयआर्जन तथा महिलाको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम तथा गतिविधिबारे जानकारी गराइएको थियो ।
अध्यक्ष दाहालले महिलालाई आत्मनिर्भर बनाउँदै परिवार तथा समाजको आर्थिक विकासमा उनीहरूको भूमिका थप प्रभावकारी बनाउन संस्थाले आगामी दिनमा पनि विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।
उहाँले महिलाको क्षमता विकाससँगै उनीहरूले उत्पादन गरेका वस्तुको बजारीकरण, सीप विकास तथा उद्यम सञ्चालनका लागि आवश्यक सहयोग र सहजीकरणमा संस्थाले जोड दिँदै आएको उल्लेख बताउनु भयो ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा महिला उद्यमशीलता प्रवद्र्धनका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले महिलालाई उद्यममा जोड्न आवश्यक पर्ने सीप, पूँजी, प्रविधि तथा बजारको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
साधारण सभामा प्रमुख अतिथि कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि स्थानीयस्तरमा सञ्चालित संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले महिलालाई सीप र अवसरसँग जोड्न सके उनीहरूले परिवारको आय आर्जनमा योगदान पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण साझेदार बन्न सक्ने धारणा राख्नुभयो।
उपाध्यक्ष तिवारीले महिला लक्षित कार्यक्रम सञ्चालन गर्दा वास्तविक आवश्यकता पहिचान गरी त्यसको प्रतिफल देखिने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहले महिला उद्यमशीलता प्रवद्र्धनका लागि सञ्चालन गर्ने कार्यक्रमसँग सम्बन्धित संस्थाहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

साधारण सभाको अवसर पारेर सस्थाले दुईजना जेष्ठ महिला सदस्यलाई सम्मान गरेको छ । मादी नगरपालिका ५ संखुवासभा निवासी ९१ वर्षीया फाल्गुकुमारी दाहाल र कमल गाउँपालिका ३ झापाकी ९० वर्षीया बिष्णुमाया गुरागाईलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
कार्यक्रममा कमल ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालासहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । सहभागी वक्ताहरूले महिलाको आर्थिक आत्मनिर्भरता बढाउन संस्थाले सञ्चालन गर्दै आएका गतिविधिलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने सुझाव दिएका थिए ।
संस्थाका उपाध्यक्ष लता भट्टराईले शाब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव यसोदा पौडेलले गर्नु भएको थियो ।


