२०८३ कार्तिक १ शनिवार , ०२:०२:०१ बजे

Sajhamanch
'

संजिवनी साकोसको वार्षिक साधारणसभामा नयाँ नेतृत्वलाई सपथ गराई प्रमाणपत्र दिइयो

शनिवार, असोज १०, २०८३

झापा । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आज शनिबार आफ्नो १९औं वार्षिक साधारणसभा सम्पन्न गर्दै चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व पाएको छ ।

संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षता तथा संस्थापक सदस्य गणेशमान मुखियाको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अग्रसेन भवनमा साधारणसभा सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा अध्यक्ष चुडालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा चालू आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, लेखा सुपरीवेक्षण समितिका संयोजक कमला शिवाकोटीले लेखा समितिको प्रतिवेदन वाचन गर्नुभयो । दुईवटै प्रतिवेदनहरु माथि सेयर सदस्यले उठाएका जिज्ञासाहरु माथि अध्यक्ष चुडालले प्रष्ट पार्नुभए पछि साधारण सभाले दुवै प्रतिवेदन पारित गरेको थियो ।

संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले सञ्चालन गर्नुभएको सो साधारण सभा समारोहमा आमन्त्रित सेयर सदस्यहरुलाई कोषाध्यक्ष शिवबहादुर कटुवालले शाब्दिक स्वागत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मुखियाले कोरोना महामारीले थलिएको नेपालको सहकारी क्षेत्रमा फेरि अर्को प्रहार सहकारी र लघुवित्तको ऋण तिर्न पर्दैन भन्ने अफवाहले अक्रान्त पारे तापनि सञ्विनीको ग्रोथ लोभलाग्दो रहेको बताउनु भयो ।

सञ्जिवनीको लोभलाग्दो परिवार माथि भरोसा गर्दै उहाँले शेयर पुँजी, जगेडा कोषहरु र निक्षेप बचत गरी जम्मा ४६ करोड १३ लाख ७५ हजार भएको आधारमा सदस्यहरुमाझ ३४ करोड ८७ लाख १० हजारमात्र कर्जा लगानी हुनुले संस्थाले कमाउने रकम मौज्दात भएको भन्दै वृद्धि गर्न आग्रह गर्नुभयो ।

साधारण सभाको अवसरमा विगत ८ वर्षदेखि संजिवनी साकोसका विभिन्न सन्दर्भहरुमा समाचार संकलन तथा प्रकाशन प्रसारणमा उल्लेख्य योगदान गरेको भनी साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेलाई नगद पुरस्कारसहित सम्मान गरियो ।

यस्तै, संस्थाका शेयर सदस्यका छोराछोरीहरु जसले गत एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका थिए, उनीहरुलाई पनि नगद पुरस्कारसहित सम्मान गरियो ।

संस्थाले असल ऋण कारोबार गर्ने र नियमित बचत गर्ने सदस्यहरुलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नयाँ नेतृत्वको घोषणा तथा सपथ :

साधारण सभामा हालै सम्पन्न निर्वाचन प्रक्रियाबाट चुनिएको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुको घोषण गर्दै सपथ गराई प्रमाण पत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृत सुधिरकुमार सुवेदीले निर्वाचनबाट निर्विरोध तथा सर्वसम्मत विधिबाट चुनिएको नेतृत्व घोषणा गरी सपथ गराउनु भएको हो ।

जसअनुसार संस्था संचालक समितिको अध्यक्षमा यामकुमार चुडाल, उपाध्यक्षमा दिनेशकुमार सुवेदी, सचिवमा कृष्णप्रसाद खरेल र कोषाध्यक्षमा शिबबहादुर कटुवाल निर्विरोध चयन भई सपथ ग्रहण गर्नुभएको छ ।

सञ्चालक समितिको महिला सदस्यहरुमा अनिता गौतम ठकुरी, सिता कार्की र मिना पाण्डे ओली पनि निर्विरोध चुनिनु भएको हो ।

संचालक समिति सदस्य (खुला)मा शिबबहादुर दाहाल र ज्ञानुराम खरेल सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा मिलन कोइराला र सदस्यहरुमा दिलिप गौतम र सविता घिमिरे मैनाली सर्वसम्मत चयन हुनुभएको थियो ।

सम्बन्धित खबर