२०८३ कार्तिक १ शनिवार , ०२:२८:२७ बजे

Sajhamanch
'

सदस्य र समुदायको भरोसा बन्दै सिम्रिक साकोस

शुक्रवार, असोज ९, २०८३

झापा । कोशी प्रदेशमा चारवटा जिल्ला कार्यक्षेत्र भएको एकमात्र संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु असोज १६ गतेदेखि सुरु हुने भएको छ ।

संस्थाले प्रकाशन गरेको सूचनाअनुसार सातवटा इकाईमा १६ देखि २० गतेसम्म एउटै कार्यसूचीमा इकाइगत साधारण सभा सम्पन्न गरी असोज २३ गते माइन्युट प्रमाणिकरण गरिने भएको हो ।

झापामा २४ वटा, इलाममा १० वटा, मोरङमा ९ वटा र पाँचथरमा एउटा गरी ४४ वटा सेवाकेन्द्र मार्फत् सिम्रिक साकोसले ७१ हजार २४६ सेयर सदस्यहरुको वित्तीय आवश्यकता पूरा गरिरहेको छ ।

वित्तीय अवस्था :
समीक्ष वर्षमा संस्थाको सेयर पूँजी ३७ करोड ३९ लाख ४ हजार ५०० पुर्याइएको छ भने संस्थाको मेरुदण्ड मानिने कोषहरुमा १३ करोड ४२ लाख ६७ हजार २७१ रुपैयाँ जम्मा भएको छ ।

संस्थाले सदस्यहरुबाट २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८०५ रुपैयाँ निक्षेप तथा बचत स्वीकार गरेको छ भने कर्जा सापट शीर्षकमा १७ करोड ३८ लाख ९ हजार २९२ रुपैयाँ बाह्य ऋण लिएको छ ।

साधारण सभामा वितरण गर्न प्रकाशित संस्थाको वार्षिक प्रतिवेदन अनुसार सिम्रिक साकोसले सदस्यहरु माझ २ अर्ब ९२ करोड ५० लाख ५४ हजार ९०१ रुपैयाँ ऋण लगानी गरेको छ भने ५७ लाख ७ हजार ५०० रुपैयाँ शेयर लगानी गरेको छ ।

समीक्षा वर्षमा संस्थाले सञ्चालन मुनाफा ५ करोड ७३ लाख ३४ हजार ९५७ रुपैयाँ गरेको भए पनि सम्भावित कर्जा नोक्सानी ब्यवस्थामा ४ करोड ५१ लाख २५ हजार ६१८ रुपैयाँ घटेर नाफा न्यून भएको छ ।

यद्यपि अघिल्ला वर्षहरुमा व्यवस्था गरिएको सम्भावित कर्जा नोक्सानी रकम २ करोड ७७ लाख ९९ हजार ५०६ रुपैयाँ फिर्ता भएपछि ४ करोड ८ हजार ८४५ रुपैयाँ नाफा गरेको छ । तर कर्मचारी बोनस, आयकर आदि वितरण गर्दा खुद मुनाफा ३ करोड ४८ लाख ७ हजार ८९५ रुपैयाँ मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

सिम्रिकले गत असार मसान्तमा ३ अर्ब ५४ करोड १० लाख १४ हजार३२६ को वासलात बनाएको छ ।

सदस्य र समुदायमा योगदान :
सहकारी संस्थामा सदस्य बनेका जो कोहीले पनि आफ्नो बचतको सुरक्षा र विभिन्न सुविधाहरुमा ध्यान दिने गरेका छन् । जब सहकारीले सुविधा घटाउँदै जान्छ, तब यसका सदस्यहरु पनि आफूलाई बैंकका ग्राहकजस्तै ठान्न पुग्दछन् ।

तर सिम्रिक साकोसले सदस्यको बचतको सुरक्षा गर्दै उनीहरुलाई अभिभावकत्व पनि प्रदान गरिरहेको पाइन्छ । आर्थिक वर्ष २०८२÷८३ मा मात्र ७४६ जना सदस्यका विभिन्न समस्याहरुमा सिम्रिकले ८२ लाख ८८ हजार ४०७ रुपैयाँ खर्चेको देखिन्छ ।

सदस्यहरुको स्वास्थ्य उपचार खर्च, प्राकृतिक विपत्तीमा राहत, सुत्केरी उपचार सुविधा र मृत्यु राहत लगायतमा उक्त सुविधा प्रदान गरिएको हो ।

यतिमात्र होइन, आफ्ना ऋणि सदस्यको मृत्यु भएमा वा कुनै घटनामा परेर पूर्ण अशक्त भएमा प्रदान गरिने कर्जा मिनाहा सुविधा अन्तरगत पनि ४१ जना सदस्यहरुलाई ५० लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिएको छ ।

समग्रमा सदस्यको सुविधामा मात्र सिम्रिक साकोसले समीक्षा वर्षमा १ करोड ४२ लाख ६७ हजार १८० रुपैयाँ खर्चेको प्रतिवेदनमा उल्लेख छ । यो बाहेक ४ लाख ४६ हजार रुपैयाँ विभिन्न सामाजिक एवम् गैर नाफामुलक संघ–संस्थालाई सहयोग गरेर सिम्रिकले आफूलाई समुदायको एउटा जिम्मेवार संस्था पनि बनाएको छ ।

बोनस तथा पुँजी कोष व्यवस्था :


सिम्रिक साकोसले समीक्षा वर्षमा आयकर पछिको नाफाबाट शेयर बोनस बाँडफाँडका लागि बोनस कोषमा १ करोड ३ लाख १८ हजार ३७० रुपैयाँ छुट्याएको छ । यसैगरी, संस्थाले संरक्षित पूँजी फिर्ता कोषमा ५७ लाख ७० हजार ९०० रुपैयाँ र कर्मचारी बोनसका लागि ४० लाख ८८५ रुपैयाँ छुट्याइएको प्रतिवेदनमा उल्लेख छ ।

सम्मान तथा पुरस्कार :
सिम्रिक साकोसले यस वर्ष आफ्नो शनिश्चरेरोड सेवाकेन्द्रका प्रमुख दिवस गजुरेललाई संस्थागत गतिविधिमा तोकिएको जिम्मेवारी बाहेक अतिरिक्त क्रियाकलापमार्फत् संस्थागत विकासमा भूमिका खेलेको भन्दै नगर ५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

यस्तै, संस्थाका शेयर सदस्य महेन्द्र भट्टराईले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

सिम्रिकले हरेक वर्ष प्रत्येक सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र एकजना उत्कृष्ट ऋण कारोबारी सदस्यलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिँदै ८८ जना सदस्यहरुलाई सम्मान गर्ने भएको छ ।

सम्बन्धित खबर