२०८३ कार्तिक १ शनिवार , ०२:३१:४३ बजे

Sajhamanch
'

बिर्तामोडमा अनियमित विद्युत कटौतीप्रति एमालेको ध्यानाकर्षण

शुक्रवार, असोज ९, २०८३

बिर्तामोड । झापाको बिर्तामोड नगर क्षेत्रमा भइरहेको अनियमित विद्युत कटौतीप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नगर कमिटीले विद्युत आपूर्तिलाई नियमित, व्यवस्थित र भरपर्दो बनाउन नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग माग गरेको छ।

एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईद्वारा आज शुक्रबार जारी विज्ञप्तिमा बिना पूर्वसूचना दिनमा दर्जनौँ पटक विद्युत आउने–जाने समस्याले बिर्तामोडवासीको दैनिक जनजीवन, व्यापार व्यवसाय तथा शान्ति सुरक्षामा समेत असर परेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा विद्युत आपूर्तिमा देखिएको समस्याका कारण स्थानीय नागरिकका फ्रिज, टेलिभिजन, कम्प्युटर, ल्यापटप तथा पानीतान्ने माेटरजस्ता  विद्युतीय उपकरण जलेर नष्ट भइरहेको दाबी गरिएको छ। साथै, विद्युत कटौतीका कारण विद्यार्थीहरूलाई बिहानको समयमा पठनपाठन तथा परीक्षाको तयारीमा समेत गम्भीर बाधा पुगेको उल्लेख छ।

एमाले नगर कमिटीले विद्युत अभावका कारण बिर्तामोडका व्यावसायिक संस्थाहरूले इन्धन प्रयोग गरी जेनेरेटर सञ्चालन गर्नुपर्दा खर्च बढिरहेको र त्यसबाट हुने क्षतिपूर्तिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाएको छ। विद्युत प्राधिकरणमा फोन गर्दा फोन नउठ्ने जनगुनासो पनि आइरहेको विज्ञप्तिमा उल्लेख छ।

पूर्वसूचनाबिनाको विद्युत कटौतीप्रति आपत्ति :

नेपाल विद्युत प्राधिकरणले आम उपभोक्ताबाट नियमित रूपमा महसुल संकलन गरिरहेको अवस्थामा भरपर्दो र गुणस्तरीय सेवा प्रदान नगर्नु उपभोक्ता अधिकारको ठाडो उल्लङ्घन भएको एमाले नगर कमिटीको भनाइ छ।

प्राधिकरणले प्राविधिक समस्या, सबस्टेसनको क्षमता विस्तार वा मर्मतसम्भारका काम गर्नुपर्ने भए त्यसको पारदर्शी पूर्वसूचना दिनुपर्नेमा बिर्तामोड क्षेत्रमा बिना सूचना पटकपटक विद्युत आपूर्ति अवरुद्ध भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमाले बिर्तामोड नगर कमिटीले नेपाल विद्युत प्राधिकरण बिर्तामोड वितरण केन्द्र तथा सम्बन्धित उच्च निकायसँग बिर्तामोड क्षेत्रको विद्युत आपूर्तिलाई तत्काल नियमित, व्यवस्थित र भरपर्दो बनाउन अपिल पनि गरेको छ।

सम्बन्धित खबर