
बिर्तामोड । झापाको बिर्तामोडस्थित एलाइन्स मोटर्सले हुण्डाई कम्पनीको नयाँ मोडलको भेन्यु कार बिक्री सुरु गरेको छ ।
केही वर्ष पहिलेदेखि नेपालमा नै उत्पादन भई बिक्री बितरण भइरहे पनि कोशी प्रदेशमा बिर्तामोडस्थित एलाइन्स मोटर्सले भेन्यु कार बिक्री सुरु गरेको हो ।
आज बुधबार दिउँसो बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, अपार इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष ओमकृष्ण बिमली, एलाइन्स मोटर्सका अध्यक्ष दिनेश पाठक, लक्ष्मी हुण्डाई कम्पनीका कन्ट्री सेल्स म्यानेजर दिवाकर रेग्मी लगायतले कारमा ओडाइएको घुम्टो खोलेर यसको बिक्री शुभारम्भ गरेका हुन् ।
अपार इन्भेष्टमेन्टको सिस्टर अर्गनाइजेशन एलाइन्स मोटर्स २०२० अक्टोबर १ मा सञ्चालनमा ल्याइएदेखि आजसम्म ५१० वटा विभिन्न मोडलका हुण्डाई कार बिक्री भइसकेको म्यानेजि डाइरेक्टर याम बिमलीले उक्त अवसरमा जानकारी दिए । र, आज लञ्च गरिएको नयाँ मोडलको कार पनि भद्रपुरका निताई सिंह राजवंशीको परिवारलाई बिक्री गरिएकाले आजसम्म ५११ वटा कार बिक्री गरेको बिमलीले सुनाए ।
कारको घुम्टो खोल्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले भेन्यु नै रोज्ने ग्राहकले अब काठमाडौ पुगिराख्नु पर्ने झण्झट अन्त्य भएको बताइन् ।
बिर्तामोड नगर पहाडको काखमा रहेको र भारत, बंगालादेशको पहुँचस्थल भएकाले यसको विकासमा यस्ता व्यवसायिक प्रतिष्ठानहरुले नयाँ नयाँ काम गरिरहनु पर्ने उनको भनाई छ ।
यो नगर शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा व्यवसायिक हब भएकाले सबैको तीब्र विकासका लागि सरोकारवाला सबैको उत्तिकै योगदान रहनु पर्ने उनले बताइन् ।
The all-New Hyundai VENUE हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी औपचारिक रूपमा लञ्च गर्ने कार्यक्रममा लक्ष्मी हुण्डाई कम्पनीका कन्ट्री सेल्स म्यानेजर दिवाकर रेग्मीले मोटरको बारेमा प्रकाश पारेका थिए । उनका अनुसार आज पूर्वमा लञ्च गरिएको हुन्डाईको यो नयाँ र आधुनिक कम्प्याक्ट एसयूभी, आकर्षक र बोल्ड डिजाइनका साथै थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको सम्मिश्रण पाउन सकिन्छ।
यसको फराकिलो र बलियो डिजाइनलाई Twin Horn LED DRLS, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille र Signature C-Pillar Garnish ले अझ आकर्षक बनाएको छ। गाडीको क्याबिनमा 10.25-inch ccNC Infotainment System, Wireless Apple CarPlay र Android Auto, Digital Cluster तथा Powered Tilt-and-Slide Sunroof जस्ता अत्याधुनिक फिचरहरु समावेश रहेको उनले बताए ।
नेपाली बजारमा all-new VENUE ४८ लाख ९६ हजारको सुरुवाती मूल्यमा मुख्यतया तीनवटा भेरियन्टमा उपलब्ध रहेको रेग्मीले बताएका छन् ।
एलाइन्स मोटर्सका म्यानेजि डाइरेक्टर याम बिमलीले सहजीकरण गरेको घुम्टो खोली कार्यक्रममा अध्यक्ष ओमकृष्ण बिमलीले बैंकमा हुने ब्याजको उतार चढावले ग्राहकलाई हतोत्साही बनाइरहेकाले भेहिकल लोनको ब्याज घटबढ नहुने बनाउन बैंकर्सलाई सुझाए ।


