२०८३ कार्तिक १ शनिवार , ०२:४६:०६ बजे

Sajhamanch
'

एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली, एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता : रिजाल

बुधवार, असोज ७, २०८३

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना गरिरहेको भन्दै त्यसको समाधानका लागि राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताएका छन् ।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेता ज्ञवालीले संकटको सामना गर्न पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रकै एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताएका हुन् ।

ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिज्म र अराजकताको जगमा उभिएको शक्ति भएकाले दीर्घकालीन रूपमा असफल हुनु अनिवार्य रहेको दाबी गर्दै त्यसले मात्रै एमाले स्वतः सफल नहुने बताए। उनले पार्टीलाई सुदृढ र रूपान्तरित बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न पार्टीभित्र बलियो एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको धारणा राखे ।

ज्ञवालीले पार्टी पुनर्जागरणको आधार आफ्नै पार्टीको एकता भएको उल्लेख गर्दै पार्टीभित्र वैचारिक समस्या नभए पनि केही विषयमा दृष्टिकोणको भिन्नता रहेको बताए । निर्वाचनपछिको परिस्थितिलाई लिएर विकसित बहसले पार्टीभित्र ध्रुवीकरण बढाएको र त्यसले भावनात्मक विभाजन सिर्जना गरेको उनको भनाइ थियो ।

उनले निर्वाचनको परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था देखिएको टिप्पणी गरे । पुनर्गठनको बहस व्यक्ति केन्द्रित बनेको, अध्यक्षलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्ने प्रयास भएको तथा पार्टीका नियमित कामसमेत प्रभावित भएको उनले बताए ।

ज्ञवालीले कार्यदलको प्रतिवेदनलाई एकताको आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै त्यसको नेतृत्व अध्यक्षले गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली अब आन्तरिक संघर्षमा होइन, योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले पार्टीलाई लागेको धक्काको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको बताए । स्थानीय तहमा देखिने प्रतिस्पर्धा, अपेक्षा र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या बढेको उल्लेख गर्दै प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने नयाँ विधि खोज्नुपर्ने बताए।

ज्ञवालीले प्रतिवेदनमा उल्लेख गरिएका कार्यभारसँगै जनजीविकाका मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । जनतासँगको सम्बन्ध मजबुत बनाउन जनजीविका सम्बन्धी विषयमा पार्टीको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

बैठकमा उठेको ‘प्रदीप ज्ञवालीको प्रतिवेदन’ सम्बन्धी चर्चाप्रति प्रतिक्रिया दिँदै उनले आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको स्पष्ट पारे।

पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयकारी भूमिका निर्वाह गर्नु गल्ती नभएको उल्लेख गर्दै उनले ध्रुवीकरण चर्किएको बेला कुनै एक पक्षमा उभिएर अतिवादी धारणा व्यक्त गर्दा मिडियामा चर्चा पाइए पनि त्यसले समस्या समाधान नगर्ने बताए।

साथै, पार्टीभित्रका विषयलाई मिडिया ट्रायल गर्ने, असहमतिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसले क्षणिक चर्चा दिलाए पनि दिगो नेतृत्व निर्माण गर्न नसक्ने उनको टिप्पणी थियो।
उक्त बैठकमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो भन्ने कुरा स्पष्ट पार्न माग गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा आज आफ्ना धारणा राख्दै रिजालले सो माग गरेका हुन् ।

रिजालले नेपाली सेनाप्रति नेकपा (एमाले)को दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै पार्टीको निशाना सेना नै हो जस्तो गरी संसदमा बारम्बार प्रस्तुत हुनुले थप शंसय सृजना गरेको बताएका छन् ।

‘अध्यक्ष कमरेड स्वयमले भन्नुभएको छ– पाँच मिनेट ढिलो भएको भएर लागू पदार्थ खुवाएर ल्याएकाहरुले मलाई बालुवाटारमै मार्ने थिए । राधिका शाक्य म्याडमको पनि अस्ति त्यस्तै धारणा सार्वजनिक भएको छ । भदौ २३–२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्’ रिजालले भने, सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ । एमालेको आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले पार्टी कै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ । यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ ।’

रिजालले पार्टी अध्यक्षको प्रतिवेदनप्रति समर्थन गर्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको थप व्याख्याबाट मुख्य नेताहरु बीच रहेको अविश्वासको कालो सेतो बादल पनि हटेको रिजालको धारणा छ । ‘अध्यक्ष कमरेडको प्रतिवेदनले आफ्ना कमजोरी केलाएको छ ।

अध्यक्ष स्वयमले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिएर अब के गरेर जार्नुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गर्नुभएको छ’ रिजालले भने ‘यसमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गरेको व्याख्याबाट पार्टीका मुख्य नेताहरुका बीचमा खडा भएको अविश्वासको कालो–सेतो सबै खालको बादल बिलाएर गएको छ । म समर्थन गर्दछु ।’

रिजालले वमपन्थी एकताका लागि तत्काल पहल लिन पनि पार्टीलाई सुझाव दिएका छन् । एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता भए पुनः कम्यूनिष्ट आन्दोलन जागृत हुन सक्ने उनले बताए ।

‘समग्र कम्युनिस्ट आन्दोलनको पुनःगठनका लागि गम्भीरतापूर्वक बहस हुनुपर्छ । आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोलचक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित छैन’ रिजालले भने ‘सापेक्षतामा हेरेर हिजो मदन भण्डारीले अनेक आरोप खेपेर चालेजस्तै साहसिक कदम आवश्यक छ । यसले फेरि एक कालखण्डका लागि हामीलाई पुनःजीवन दिनेछ ।’

रिजालले पार्टीको प्रचारलाई प्रभावकारी बनाउन फिजिकल हैन डिजिटल संयन्त्र बनाउनु पर्ने बताएका छन् । उनले पार्टी केन्द्रमा अलग्गै डिजिटल विभाग बनाएर चौबिसै घण्टा नयाँ माध्यमबाट प्रचार गर्नुपर्ने बताए ।

पार्टीमा नयाँ पुस्ताको आकर्षण जरुरी रहेको रिजालको भनाइ छ । नयाँ पुस्ताको पार्टीप्रति घटेको आकर्षणका बारेमा चिन्ता गर्दै रिजालले भने ‘पार्टीको पूर्णकालिन सदस्य हुने कतै मेरो पुस्ता नै अन्तिम हुने त होइन ? यस विषयमा गम्भिर हुन पार्टीका सबै तप्कालाई आग्रह गर्दछु ।’