
- सूर्यबहादुर खबास
दुबई । वैदेशिक श्रम व्यवस्थापन, श्रमिक कल्याण तथा विदेशमा रहेका नागरिकको निर्वाचन सहभागिता लगायत साझा सरोकारका विषयमा दुबईस्थित फिलिपिन्स महावाणिज्यदूतावाससँग विस्तृत छलफल भएको छ।
दुबईस्थित फिलिपिन्सका महावाणिज्यदूत महामहिम एम्ब्रोसियो ब्रायन एफ. एन्सिसो तृतीय सहितको टोलीसँग भएको भेटवार्तामा वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या, उनीहरूको कल्याण, सेवा प्रवाह तथा विदेशमा रहेका नागरिकको चुनावी सहभागितासहित विभिन्न विषयमा अनुभव आदानप्रदान गरिएको हो।
दुबई तथा उत्तरी इमिरेट्समा रहेका फिलिपिनो नागरिकलाई लक्षित गर्दै एक सयभन्दा बढी कर्मचारीसहित सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको फिलिपिन्स महावाणिज्यदूतावासको कार्यशैलीलाई उदाहरणीय अभ्यासका रूपमा लिँदै त्यसबाट सिक्न सकिने विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटका क्रममा दुवै पक्षले आफ्ना अनुभव र असल अभ्यास आदानप्रदान गर्दै श्रमिक तथा प्रवासी नागरिकका लागि प्रभावकारी सेवा र कल्याणका क्षेत्रमा सहकार्य तथा सिकाइलाई निरन्तरता दिने विषयमा जोड दिएका थिए ।
यस किसिमको अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानले वैदेशिक श्रम व्यवस्थापन, प्रवासी नागरिकको हित संरक्षण तथा कूटनीतिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


