२०८३ कार्तिक १ शनिवार , ०२:५६:४६ बजे

Sajhamanch
'

विद्यार्थीले बाढीपहिरो पीडितका लागि गरे सहयोग

मङ्गलवार, असोज ६, २०८३

अर्जुनधारा । अर्जुनधारा  ६ स्थित श्री बालकल्याण आधारभूत विद्यालयका बालकक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरूले कापी–पेन्सिल किन्न छुट्याएको रकममध्ये केही रकम बाढीपहिरो पीडितका लागि स्वेच्छाले सहयोग गरेका छन्।

गत भदौ १० गते रसुवामा आएको बाढीपहिरोबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले विद्यालयको बालक्लबले रकम सङ्कलन गरेको हो। बालक्लब अध्यक्ष रेशु श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेपछि विद्यार्थीहरूले आफ्नो इच्छाअनुसार रकम प्रदान गरेका थिए।

विद्यार्थीबाट सङ्कलित रु २ हजार ४० रुपैयाँ बालक्लबले असोज १ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बालक्लबकी संयोजक शिक्षक दीपिका निरौलाले बताइन्।

प्रधानाध्यापक डम्बर यादवले विद्यार्थीहरूको सहयोगी भावनाको प्रशंसा गर्दै सानै उमेरदेखि सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको विकास हुनु सकारात्मक भएको बताए।

‘रकम सानो भए पनि विद्यार्थीहरूले आफ्नै इच्छाले सहयोग गर्नु ठूलो कुरा हो,’ यादवले भने, ‘यस्ता गतिविधिले बालबालिकामा अरूको दुःख बुझ्ने, सहयोग गर्ने र सामाजिक जिम्मेवारी बहन गर्ने संस्कारको विकास गर्छ।’

सम्बन्धित खबर