२०८३ कार्तिक १ शनिवार , ०३:२१:०३ बजे

Sajhamanch
'

स्वर्ण लक्ष्मी साकोसको इकाइगत साधारण सभा जारी

सोमवार, असोज ५, २०८३

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औँ वार्षिक साधारण सभा अन्तरगत शिवसताक्षीको झिलझिलेमा आज इकाइगत साधारण सभा सम्पन्न गरेको छ। दमकमा केन्द्रीय कार्यालय रहेको संस्थाले सोमबार झिलझिले सेवा केन्द्रका सदस्यहरुमाझ इकाइगत साधारण सभा गरेको हो।

साधारण सभामा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वर्णलक्ष्मीले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र असल अभ्यासलाई आत्मसात् गर्दै आफ्नो कारोबार सञ्चालन गर्दै आएको बताए ।

उनले यस अवधिमा संस्थाको कुल वासलात ४.६ प्रतिशत बृद्धि गरी रु १ अर्ब २५ करोडको हाराहारीमा पुर्याउन संस्था सफल भएको जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल वासलातमा ४.६ प्रतिशत वृद्धि भई करिब १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा मात्र संस्थाले १३ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन थप गरी ९६ करोड ९५ लाख रुपैयाँ सदस्यहरुमाझ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रधान कार्यालय दमकबाट ९७ करोड ७५ लाख २६ हजार रुपैयाँ, झिलझिले सेवा केन्द्रबाट ७ करोड ७५ लाख १५ हजार रुपैयाँ, उर्लाबारी सेवा केन्द्रबाट १० करोड २ लाख ३५ हजार रुपैयाँ, सुरुङ्गा सेवा केन्द्रबाट ६ करोड २८ लाख ९४ हजार रुपैयाँ र गौरादह सेवा केन्द्रबाट ४ करोड ३१ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

साधारण सभाका क्रममा संस्थाले आफ्ना सबै सेवा केन्द्रबाट उत्कृष्ट कारोबार गर्ने ५१ जना सदस्यलाई सम्मान गर्ने घोषणासमेत गरेको छ। संस्थाको स्थापना दिवसका अवसरमा उनीहरूलाई सम्मान गरिने जनाइएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सञ्जीव रिमालले स्वागत मन्तव्य राखेका थिए । झिलझिले सेवा केन्द्रका प्रमुख दुर्गाप्रसाद गुरागाईंले कार्यक्रमको सञ्चालन गरेका थिए ।

संस्थाले आगामी आश्विन ९ गते दमकमा मान्युट प्रमाणिकरण गरी सम्पूर्ण साधारण सभाका कार्यक्रम सम्पन्न गर्ने जनाएको छ।

सम्बन्धित खबर