
झापा । नेपालको अग्रणी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले असोज ३ र ४ गते सातवटा स्थानमा आफ्नो एकाईगत साधारण सभा सम्पन्न गरेको छ ।
मेचीनगरको काँकरभिट्टामा कर्पोरेट कार्यालय रहेको एनएमसी झापा, इलाम र मोरङ जिल्लामा विस्तारित छ । संस्थामा गत असार मसान्तमा एक लाख ७३ हजार ८७७ जना सेयर सदस्य रहेका छन् ।
एनएमसीमा बचत तथा ऋण व्यवसाय, डेरी व्यवसाय, एग्रोफार्म व्यवसाय, सहकारी पसल व्यवसाय र चिया उद्योग व्यवसाय गरी ५ वटा व्यवसाय मार्फत् एनएमसीले सेवा प्रवाह गरिरहेको छ ।
एनएमसीले असोज ३ गते झापाको कनकाई माई पश्चिमका ११ वटा र इलामको चुलाचुलीमा रहेको एउटा गरी १२ वटा सेवा केन्द्रको लागि निर्धारित सताक्षी क्षेत्रको एकाइगत साधारणसभा दमकमा सम्पन्न गरेको थियो ।
यस्तै, मोरङ जिल्लामा रहेका ८ वटा सेवा केन्द्रको एकाईगत साधारण सभा बेलबारीमा र इलामका ४ वटा सेवा केन्द्रको एकाइगत सभा फिक्कलमा सञ्चालन गरिएको हो ।
असोज ४ गते मेची केचना १ अन्तरगतका ९ वटा सेवा केन्द्रको धुलाबारीमा र मेची केचना २ अन्तरगतका ५ वटा सेवा केन्द्रको चन्द्रगढीमा एकाइगत सभा सञ्चालन गरिएको थियो ।

यस्तै, विराट १ अन्तरगतका ११ वटा सेवा केन्द्रको बिर्तामोडमा र विराट २ अन्तरगतका ८ वटा सेवा केन्द्रको सुरुङ्गामा एकाइगत साधारण सभा गरिएको हो ।
एनएमसीको अन्तिम माइन्युट प्रमाणीकरण साधारण सभा यही असोज १० गते बिर्तामोडमा आयोजना गरिएको छ ।
संस्थाले समान कार्यसूचीका आधारमा ३४औं वार्षिक साधारण सभा अन्तरगत सात स्थानमा इकाइगत सभा सञ्चालन गरेको हो । विगत केही वर्षहरुमा सेवा केन्द्रस्तरीय उपइकाइगत साधारण सभा गर्ने प्रचलन थियो ।
साधारण सभामा वितरित वार्षिक प्रतिवेदन अनुसार एनएमसीमा एक अर्ब ४४ करोड ३३ लाख ६९ हजार ३०० रुपैयाँ सेयर पूँजी संकलन गरिएको छ भने संस्थाको मेरुदण्ड मानिने साधारण जगेडा कोषमा ९६ करोड ८८ लाख ५८ हजार ८२० रुपैयाँ र अन्य वैधानिक कोषहरुमा १३ करोड ५१ लाख २४ हजार ८९१ रुपैयाँ पुर्याइएको छ ।
संस्थाले सदस्यहरुबाट १२ अर्ब ३३ करोड ४९ लाख ३५ हजार ३२९ रुपैयाँ निक्षेप बचत स्वीकार गरेर सदस्यहरुमाझ १० अर्ब ८५ करोड ११ लाख ८७ हजार १४३ रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

प्रतिवेदन अनुसार संस्थाले बैंक तथा वित्तीय संस्थामा मौज्दात राखेको तरलता रकम पल्स मापदण्डभन्दा धेरै राखेकाले प्रसस्त नाफा कमाउन नसकेको देखिन्छ । संस्थासँग नगद तथा नगद सरह २१ करोड ५० लाख ८४ हजार ५९० रुपैयाँ र वैंक तथा वित्तीय संस्थामा मौज्दात रहेको रकम ३ अर्ब ३२ करोड ८ लाख १३ हजार ३६८ रुपैयाँ मौज्दात रहेको देखिन्छ ।
यद्यपि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै समीक्षा वर्षमा ४ करोड ५९ लाख ३७ हजार ८६० रुपैयाँ सदस्य तथा परिवार र समुदायमा खर्च गरेको छ । आफ्ना ५४ हजार ७८७ जना सेयर सदस्यहरुमा आइपरेका राम्रा नराम्रा घटनामा वर्षभरमा संस्थाले उक्त रकम खर्चेर अभिभावकत्व दर्शाएको हो ।
सदस्य संख्या एवम् वित्तीय कारोबारका आधारमा नेपालकै दोस्रो ठूलो सहकारी संस्था मानिएको एनएमसीमा हाल स्थायी, अस्थायी, करार, ज्यादारी, परीक्षणकाल तथा सुरक्षा सहयोगीहरु गरी एक हजार १७३ जना नेपाली नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् ।
संस्थाले समीक्षा वर्षमा प्राप्त खुद नाफाबाट सेयर अनुपातका आधारमा सेयर लाभांशमा २ करोड ५० लाख ८३ हजार ४९२ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा १ करोड २० लाख २४ हजार ६८४ रुपैयाँ वितरण गरिने भएको छ ।


