
झापा । शिवसताक्षीको गोलोक गोवर्धन गौशालामा आगामी २०८३ माघ ९ गतेदेखि २७ गतेसम्म श्रीशताक्षी गोरक्षा महोत्सव–२०८३ आयोजना हुने भएको छ ।
ऐतिहासिक शत् (१००) कुण्डीय श्रीगायत्री कोटिहोम, श्री अष्टादश (१८) महापुराण एवं धनधान्याञ्चल विराट ज्ञान महायज्ञ आयोजना हुने भएको आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ ।
महोत्सव गोलोक गोवर्धन गौशालाको ११औँ स्थापना दिवसको अवसरसँग जोडेर आयोजना गर्न लागिएको हो ।
गौशालाका संरक्षक एवं अध्यक्ष आचार्य श्री नन्दकिशोर भारद्वजका अनुसार अघिल्लो वर्ष नै महोत्सवका लागि आवश्यक तयारी पूरा गरिएको थियो । तर जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थिति पछि स्थानीय प्रशासनले कार्यक्रमको रूपरेखा परिमार्जन गर्न आग्रह गरेकाले कार्यक्रम स्थगित गरिएको थियो ।
स्थगित महोत्सवलाई थप व्यवस्थित र व्यापक बनाउँदै यसवर्ष माघ ९ देखि २७ गतेसम्म सञ्चालन गर्न लागिएको उनले बताए ।
महोत्सवमा गायत्री मन्त्रद्वारा एक करोड आहुति अर्पण गर्ने लक्ष्यसहित शत कुण्डीय कोटिहोम सञ्चालन हुने जनाइएको छ । यज्ञकै अभिन्न अङ्गका रूपमा १८ महापुराणको वाचन, चारै वेदको पाठ, धार्मिक प्रवचन, संगीतमय भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक अनुष्ठान गरिनेछ ।
महोत्सवमा नेपालसहित भारत, अमेरिका, अफ्रिका, भुटानलगायत विभिन्न देशबाट अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्मगुरु, सन्त, महात्मा, पण्डित, आचार्य तथा विदुषीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
दैनिक हजारौँ श्रद्धालु तथा विभिन्न धर्म–समुदायका मानिसको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । विभिन्न जातजाति, भाषा, धर्म र समुदायका सांस्कृतिक तथा धार्मिक झाँकीसमेत कार्यक्रममा प्रस्तुत गरिने छ ।
आचार्य श्री नन्दकिशोरका अनुसार महोत्सवमा तुलसी वाटिका आश्रम श्रीधाम वृन्दावनका पिठाधिस अनन्त श्री विभूषित स्वामी श्री भागवत शरण देवाचार्यजी महाराज, अन्तर्राष्ट्रिय कथावाचक गोविन्द घिमिरे, काठमाडौंका कुबेर सुवेदी, डा. स्वामी यतिराजाचार्यजी सुनसरी, अनन्त श्री विभूषित स्वामी श्री भागवताचार्यजी महाराज काठमाडौं, मुक्तिनाथ बाबा, स्वामी निर्विशेषानन्दजी महाराज र श्रीकृष्ण शरण देवाचार्यजी महाराजलगायत धर्मगुरुको सहभागिता रहनेछ ।
महोत्सवमा महिला तथा बाल विदुषीहरूको पनि विशेष सहभागिता रहनेछ ।
महोत्सवमा श्री शंकराचार्य पीठ वेद–वेदाङ्ग संस्कृत पाठशाला, साधुटार झापाका विद्वद्वरेण्य आचार्य प्रवर पं. लक्ष्मीप्रसाद खतिवडा, तथा काठमाडौंका डा. आचार्य प्रसाद गर्तौला यज्ञाचार्यका रूपमा रहने जनाइएको छ ।
गोलोक गोवर्धन गौशाला गाईको संरक्षणमा मात्र सीमित नरही सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको छ । गौशालाका अनुसार विगत १० वर्षमा विपद् तथा असहाय अवस्थामा रहेका गोवंशको उद्धार, संरक्षण र संवद्र्धन गर्दै दुई हजारभन्दा बढी गोवंश गाउँ–समाजमा वितरण गरिएको छ ।
त्यस्तै, करिब एक हजार गाई अट्ने गोठ निर्माण, वृद्धवृद्धाको सेवा तथा संरक्षण, संस्कृत शिक्षा अध्ययन–अध्यापनका लागि गुरुकुल स्थापना तथा सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणका क्षेत्रमा काम भइरहेको गौशालाले जनाएको छ ।
गौशालाले विगत ११ वर्षदेखि बाला चतुर्दशी र विवाहपञ्चमीको अवसरलाई आधार बनाएर श्रीशताक्षी गोरक्षा महोत्सव आयोजना गर्दै आएको थियो । तर, यस वर्ष देखि वार्षिक समय तालिका परिमार्जन गरेर यस वर्षदेखि माघ महिनामा कार्यक्रम संचालन हुने आयोजकले बताएको छ ।
आयोजकले यस महोत्सवलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखेको जनाएको छ । कार्यक्रमले गोरक्षा, संस्कृत शिक्षा, आध्यात्मिक चेतना, धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धनसँग जोडेको गौशालाको भनाई छ ।
शिवसताक्षीधाम पूर्वी नेपालको महत्वपूर्ण धार्मिक गन्तव्यमध्ये एक भएकाले १९ दिनसम्म सञ्चालन हुने महोत्सवमा देश–विदेशबाट आउने धर्मगुरु, विद्वान्, कथावाचक तथा श्रद्धालुको उपस्थितिले यस क्षेत्रको धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने आयोजकको अपेक्षा छ ।


