
बिर्तामोड । झापा जिल्लाभरका शिक्षकहरुले सञ्चालनमा ल्याएको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा आयोजित साधारण सभामा उनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा एक हजार ४१५ जना सेयर सदस्य संख्या रहेको, सदस्यबाट ८२ लाख ९७ हजार ९०० रुपैयाँ शेयर पुँजी संकलन गरिएको तथा निक्षेप बचतमा चार करोड ४६ लाख ४९ हजार ३४९ मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।
वासलात रकम ५ करोड ८९ लाख २३ हजार ७३७ रुपैयाँ पुर्याइएको शिक्षक हित साकोसमा ५० लाख ३३ हजार २३५ रुपैयाँको जगेडा कोष बनाइएको छ । साकोसले सदस्यहरुमाझ २ करोड ७३ लाख ७७ हजार ८६८ रुपैयाँ ऋण लगानी गरिएको अध्यक्ष तिम्सिनाले अवगत गराए ।
संस्थाले आफ्ना सदस्यहरुको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्ने, सदस्यका श्रीमान वा श्रीमतीको मृत्यु भएमा काजकिरिया खर्च प्रदान गर्ने, सदस्य स्वयम्को मृत्य भएमा परिवारलाई राहत प्रदान गर्ने, बाल बचतकर्तालाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने लगायतका रचनात्मक कार्यहरु गर्दै आएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
संस्थाका उपाध्यक्ष गोबिन्दप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको १४औं वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्ताका रुपमा विनादेवी शर्मा प्याकुरेल, बाल बचतकर्ताका रुपमा इच्छा घिमिरे, उत्कृष्ट कारोबारी सदस्यका रुपमा पुण्यप्रसाद उप्रेती र ज्येष्ठ सदस्य सम्मान तथा पुरस्कार गंगाराम नेपाललाई प्रदान गरियो ।
यसैगरी, साधारण सभामा २०८२ सालको माद्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने सेयर सदस्यका छोरा छोरीहरुलाई र सामुदायिक विद्यालयबाट उत्कृष्ट अंकसहित उत्तीर्ण हुने छात्र छात्रालाई पनि नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।


