
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यानाकर्षण गराइएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
टोलीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्यालसहितको प्रतिनिधिमण्डल, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्यहरु एवम् अग्रज पत्रकारहरूको सहभागिता थियो ।
कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमार्फत लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन तथा छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।


