२०८३ कार्तिक १ शनिवार , ०२:५२:५३ बजे

Sajhamanch
'

संविधान दिवसलाई सामाजिक सेवासँग जोड्ने बिर्तामोड एमालेको प्रयास

शनिवार, असोज ३, २०८३

बिर्तामोड । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा नेकपा एमाले बिर्तामोड नगरकमिटीको आयोजना तथा वडा नं. ३ कमिटीको सह आयोजनामा बिर्ताबजारस्थित दुर्गा मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा ६१ जनाले रगत दान गरेका छन् ।

११ जना महिला र ५० जना पुरुष गरी ६१ जनाले स्वेच्छिक रक्तदान गरेको बिर्तामोड ३ नं. वडा कमिटी अध्यक्ष कोसिस घिमिरेले जानकारी दिएका छन् । अस्पतालमा सेवाग्राहीहरुको वृद्धि हुँदै गर्दा निरन्तर भोग्नु परेको रगत अभावलाई ध्यानमा राख्दै संविधान दिवसलाई स्मरणीय बनाउन र रक्तदान कार्यक्रमले संविधान दिवसलाई सामाजिक सेवासँग जोड्ने प्रयास गरेको आयोजकको भनाई छ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित रक्तदान शुभारम्भ कार्यक्रममा वरिष्ठ अधिवक्ता टंक उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो ।

उनले नेपालको संविधानलाई विश्वकै उत्कृष्टको सूचिमा राखिए तापनि शासकहरुको बेइमानीले समय समयमा यसको पनि टिप्पणी हुने गरेको स्मरण गरे ।

वर्तमान सरकारले प्रतिनिधि सभाको दुई तिहाईबाट पनि संविधान संशोधन गर्न सकिने विवादास्पद निर्णय सर्वोच्चले खारेज गरिदिएको घटनाले पनि शासकका कारण संविधानको आलोचना हुने गरेको उनको भनाई छ । रास्वपाले विपक्षीहरुको विरोधका बीच जबर्जस्ती पास गरेका प्रतिनिधिसभा नियमावलीका दुई प्रावधानहरु संविधान अनुकुल नदेखिएको भनी सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सो रक्तदान कार्यक्रमको उद्घाटनमा मन्तब्य राख्दै एमाले जिल्ला सचिवालय सदस्य देवराज कार्कीले ७० वर्षको प्रतिक्षापछि नेपाली जनताका छोराछोरीले लेखेको संविधान उत्कृष्ट मानिए पनि केन्द्रीकृत मानसकिताका कारण प्रदेश र पालिकाहरुले पूर्ण अधिकार उपभोग गर्न नपाएको सुनाए ।

उनले रक्तदानको माध्यमबाट पार्टीलाई समुदायसँग र सामाजिक सरोकारसँग घुलमिल गराएकोमा आयोजक नगर कमिटीलाई धन्यवाद दिए ।

एमाले बिर्तामोड नगर कमिटी उपाध्यक्ष तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव श्री न्यौपानेले गरेका थिए।

रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको थियो।

 

सम्बन्धित खबर