२०८३ कार्तिक १ शनिवार , ०३:१७:४१ बजे

Sajhamanch
'

अबुधाबीमा संविधान दिवस : प्राप्त उपलब्धी संरक्षण र सुशासनमा जोड

शनिवार, असोज ३, २०८३

अबुधाबी । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा नेपाली राजदूतावास अबुधाबी परिसरमा आयोजित विशेष कार्यक्रममा नेपाली समुदायले संविधानका उपलब्धी, लोकतान्त्रिक मूल्य मान्यता र नागरिक अधिकारको संरक्षणसँगै मुलुकमा सुशासन, शान्ति, विकास र समृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी तथा परिवारका सदस्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई, नेपाली समाज यूएई, आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूएई, विभिन्न वैचारिक संगठन तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानले प्रत्याभूत गरेका हक, अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै संघीय लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत विकास गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

राजदूत क्षेत्रीले मुलुकमा दिगो शान्ति, विकास, समृद्धि र सुशासन कायम गर्न सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्दै नेपाल सरकारले सुशासन तथा समृद्धिका क्षेत्रमा अघि सारेका नीति, कार्यक्रम र विकास निर्माणका कार्यमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा हालैको प्राकृतिक विपत्तिबाट सिर्जित परिस्थितिको सामना गर्न नेपाली समुदाय तथा सम्बन्धित सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आह्वान गर्नुभयो ।

कार्यक्रममा एनआरएनए यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई लगायत यूएईमा क्रियाशील विभिन्न संघसंस्था तथा वैचारिक संगठनका प्रतिनिधिहरूले संविधान दिवसको अवसरमा आफ्ना धारणा राखेका थिए ।

वक्ताहरूले संविधानले सुनिश्चित गरेका हक तथा अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि राज्यका साथै नागरिक समाज, संघसंस्था र प्रवासी नेपाली समुदायले समेत आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राजदूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख रन्जिता दाहालले संविधान दिवसको महत्वबारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन दूतावासका द्वितीय सचिव राधारमण दुब्बेले गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले संविधान दिवसले नेपाली समाजलाई राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता तथा संविधानका उपलब्धिको संरक्षण र कार्यान्वयन तर्फ थप जिम्मेवार बन्न प्रेरणा दिने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्था, सामाजिक तथा वैचारिक संगठनका प्रतिनिधिसहित नेपालीजनको सहभागिता थियो।

सम्बन्धित खबर