
झापा । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत शनिबारदेखि वडा अधिवेशन शुरु हुँदैछ । वडामा नयाँ नेतृत्व चयन गर्न झापा पार्टीले जिल्लाका १३१ वटै वडामा निर्वाचन अधिकृत खटाइएको जनाएको छ ।
१५औं महाधिवेशनका लागि तय गरिएको निर्वाचन निर्देशिका, विधानले गरेको ब्यवस्थाका विषयमा जिल्ला कार्यालयमा प्रशिक्षण सम्पन्न गरी अधिकृतहरुलाई वडा–वडामा पठाइएको हो ।
वडा निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिँदै जिल्ला निर्वाचन अधिकारी दिब्यराज घिमिरेले कांग्रेस महाधिवेशनलाई सहमति, सहकार्य र एकताको महाधिवेशन बनाउने लक्ष्य राखिएकाले वडा वडामा सफलतापूर्वक नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।
निर्वाचन निर्देशिका बमोजिम वडा अधिवेशनबाट ६ पदाधिकारीसहित न्यूनतम १७ सदस्यीय समिति निर्वाचित हुनेछन् भने क्रियाशिल सदस्य संख्याको आधारमा न्यूनतम २३ देखि अधिकतम ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने जिल्ला निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
झापाका सभापति देउकुमार थेवेले लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण भएको चर्चा गर्दै यसपटकको महाधिवेशनमा अधिकतम सहमति, सहकार्य र एकता प्रस्तुत गरेर सबै तहमा सर्वसम्मत नेतृत्व चयन गर्न सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसले यसपटक खुल्ला, महिला, पेशागत विषयविज्ञ, ३५ वर्षमुनीका युवा, समानुपातिक, अपाङ्गता, दलित, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्वपीडित, श्रमिक लगायतका क्लस्टर तय गरेको जानकारी दिँदै सभापति थेवेले समावेशी सहभागिताले सबैको अपनत्व कायम हुने विश्वास ब्यक्त गर्नुभयो ।

यही असोज ७ गते गाउँ नगर र १० गते प्रदेशसभा क्षेत्र एवं प्रतिनिधिसभा क्षेत्रको अधिवेशन तथा नेतृत्व चयनका लागि निर्वाचन तय गरिएको छ । प्रदेशसभा निर्वाचनबाट प्रदेश समिति र कोशी प्रदेशका लागि अधिवेशन प्रतिनिधि चयन हुनेछन् । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
नेपाली कांग्रेसको विधान बमोजिम गाउँ नगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिको सभापति पदमा उम्मेद्वार बन्न क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने ब्यवस्था छ भने जिल्ला, प्रदेश सभापति र केन्द्रीय सदस्यमा उम्मेद्वार हुनका लागि महाधिवेशन प्रतिनिधि हुनैपर्ने ब्यवस्था छ ।
नेपाली कांग्रेसको विधान २०१७ एघारौं संसोधनले गाउँ नगर, प्रदेशसभा क्षेत्रीय सभापतिहरुलाई पदेन महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था गरेको छ भने क्षेत्रीय सभापति पदेन महासमिति सदस्य हुने ब्यवस्था गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।


