
बिर्तामोड । पूर्वी नेपालको प्रमुख व्यापारिक सहर बिर्तामोडमा पछिल्लो समय फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
नगरका विभिन्न क्षेत्रमा घर तथा टोलबाट फोहोर संकलन हुन नसक्दा स्थानीयवासीले लामो समयदेखि घरमै फोहोर थुपारेर राख्नुपर्ने अवस्था आएको पाइएको छ।
नगरपालिकाले नगरवासीबाट फोहोर व्यवस्थापनका नाममा शुल्क तथा कर संकलन गर्दै आए पनि नियमित रूपमा फोहोर उठाउने व्यवस्था भने प्रभावकारी हुन सकेको छैन। कतिपय टोलमा डेढ महिनादेखि फोहोर संकलन गर्ने टोली नपुगेको स्थानीयवासीको गुनासो छ।
केही वर्षदेखि बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापन गर्दै आएको निराकार सरसफाइ प्रालिको सम्झौता अवधि समाप्त भएपछि फोहोर संकलनमा समस्या देखिएको बताइन्छ । सम्झौता सकिएपछि नयाँ व्यवस्थापनको स्पष्ट र प्रभावकारी विकल्प समयमै कार्यान्वयन हुन नसक्दा यसको प्रत्यक्ष असर नगरवासीमाथि परेको हो ।
नगरपालिकाको कार्यालयकै सामुन्ने रहेको पारिजात टोलमा समेत लामो समयदेखि फोहोर उठ्न नसकेको टोलका उपाध्यक्ष सरोजकुमार विमली बताउनुहुन्छ। उहाँका अनुसार साउनको सुरुवाततिर निराकारका कर्मचारी आएर त्यस महिनासम्मको रकम संकलन गर्नुका साथै टोलमा थुप्रिएको फोहोर उठाएर लगेका थिए। त्यसपछि भने करिब डेढ महिनादेखि टोलमा फोहोर संकलन गर्न टोली नआएको उहाँको भनाइ छ।
“नगरपालिकाको कार्यालयकै अगाडि रहेको टोलमा त यस्तो अवस्था छ भने नगरका अन्य टोलको अवस्था कस्तो होला भन्ने प्रश्न उठेको छ” विमली भन्नुहुन्छ।
नगरका केही भूगोलमा फोहोर संकलन गर्ने टोली पुगेको बताइए पनि सबै क्षेत्रमा नियमित सेवा पुग्न सकेको छैन। यसले फोहोर व्यवस्थापनको जिम्मेवारी सम्हालेको स्थानीय सरकारको सेवा प्रवाहमाथि प्रश्न उठाएको छ।
महिनौं फोहोर संकलन अवरुद्ध भएको जानीजानी नगरपालिका प्रशासन संकलनको काम भइरहेको ठानेर मख्ख छ । तर उसले घर, टोल र चोकमा थुप्रिएको फोहोर दुई तीन दिनमा नै उठाइसक्ने व्यवस्था मिलाउनु पथ्र्यो । यसका लागि केही थान ट्याक्टरहरु भाडामा लिएर पनि सफाईको कामलाई द्रुत गतिमा लैजान सकिन्थ्यो । तर जनप्रतिनिधि र कर्मचारीको निकम्मापनले नगरपालिकाको आँगनमै रहेको टोल त दुर्गन्धित छ भने सिंगो पालिकाको अवस्था के होला ।
करोडौँ खर्चेर पनि प्रयोगमा आएन फोहोर व्यवस्थापन केन्द्र :
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि बिर्तामोडसहित तीनवटा नगरपालिकाले कनकाईमा ‘कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा’ नामक कम्पनी स्थापना गरी करोडौँ रकम खर्च गरेका छन्।
तर उक्त संरचना हालसम्म सञ्चालनमा ल्याउन नसक्ता बिर्तामोडको फोहोर नियमित रूपमा लैजाने अवस्था अझै बन्न सकेको छैन। एकातिर दीर्घकालीन फोहोर व्यवस्थापनका लागि ठूलो लगानी गरिएको छ भने अर्कोतर्फ नगरवासीका घर–घरमा फोहोर थुप्रिनुले नगरको फोहोर व्यवस्थापन योजना र त्यसको कार्यान्वयनबीचको दूरी देखाएको छ।
बिर्तामोडजस्तो पूर्वी नेपालको प्रमुख सहरमा फोहोर व्यवस्थापन केवल सरसफाइको विषय मात्र नभई सार्वजनिक स्वास्थ्य, वातावरण र नगरको शहरी व्यवस्थापनसँग जोडिएको विषय हो। लामो समयसम्म घर तथा टोलमा फोहोर थुप्रिँदा दुर्गन्ध फैलिनुका साथै वर्षायाममा स्वास्थ्य तथा वातावरणीय जोखिमसमेत बढ्न सक्ने स्थानीयवासीको चिन्ता छ।
नगरपालिकाले ठेक्का दिएको निराकारले फोहोर व्यवस्थापनका लागि नगरवासीबाट नियमित रूपमा शुल्क तथा कर उठाउँदै आएको अवस्थामा त्यसबापतको सेवा निरन्तर र प्रभावकारी रूपमा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्वमध्ये एक हो। त्यसैले सम्झौता सकिनुअघि नै वैकल्पिक व्यवस्था तयार गर्न नसक्नु र अहिलेको अवस्थालाई लामो समयसम्म निरन्तर रहन दिनु नगरको व्यवस्थापकीय क्षमतामाथि गम्भीर प्रश्न बनेको छ।
अब नगरपालिकाले फोहोर संकलन तत्काल नियमित गर्ने मात्र होइन, फोहोर व्यवस्थापनका लागि उठाइएको रकम कहाँ र कसरी खर्च भइरहेको छ, दीर्घकालीन व्यवस्थापनका लागि गरिएको करोडौँको लगानी किन प्रभावकारी रूपमा प्रयोग हुन सकेन र नयाँ फोहोर व्यवस्थापन प्रणाली कहिलेदेखि पूर्ण रूपमा सञ्चालन हुन्छ भन्ने विषयमा नगरवासीलाई स्पष्ट जानकारी दिनुपर्ने जरुरी देखिन्छ ।
फोहोर उठाउने सेवा अवरुद्ध भएको लामो समय बितिसक्दा पनि समस्या समाधान हुन नसक्नुले बिर्तामोडको शहरी व्यवस्थापनमा रहेको कमजोरीलाई सतहमा ल्याएको छ। अब प्रश्न फोहोर कहिले उठ्छ भन्ने मात्र होइन—नगरवासीबाट शुल्क उठाएर पनि आधारभूत सरसफाइ सेवा नियमित बनाउन नसक्नुको जिम्मेवारी कसले लिने ? नगरबासीसँग प्रत्यक्ष जोडिएको फोहोर ब्यवस्थापनको जिम्मा नगरपालिकाको हुन्छ, अझ हरेक घर, पसल र कार्यालयहरुबाट मासिकरुपमा शुल्क पनि संकलन गरिनुले यसको ब्यवस्थापनमा बिर्तामोड नगरपालिकाको सिंगो नेतृत्व चुकेको छ भन्नलाई अब आइतबार कुर्न पर्दैन ।


