
अबुधाबी । रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको प्रलयकारी बाढीबाट ज्यान गुमाएका दिवंगत आत्माहरूको सम्मानमा अबुधाबीस्थित नेपाली राजदूतावासमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरिएको छ।
राष्ट्रिय गान र मौनधारणबाट सुरु भएको शोकसभामा बाढी तथा विपदमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिएको थियो।
पीडित परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते तथा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार र परिवारसँग पुनर्मिलनको कामना गरिएको थियो।
दिवंगतहरूको चिरशान्तिको कामनासहित साँझ दूतावास परिसरमा दीप प्रज्ज्वलन गरिएको थियो। नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक मनाउने क्रममा दूतावासको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।
यस अवसरमा शोक तथा समवेदना प्रकट गर्न इच्छुक युएईमा रहेका सक्रिय संघसंस्था, समाज, विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरूका लागि दूतावास परिसरमा समवेदना पुस्तिकासमेत राखिएको थियो। उपस्थित सहभागीहरूले उक्त पुस्तिकामा आ–आफ्ना श्रद्धाञ्जली तथा समवेदनाका सन्देश लेख्दै हस्ताक्षर गरेका थिए।
शोकसभालाई सम्बोधन गर्दै नेपाली राजदूत तेजबहादुर क्षेत्रीले विनाशकारी बाढीका कारण भएको जनधन तथा भौतिक सम्पत्तिको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले विपदबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सबैले हातेमालो गर्दै सहयोगी भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
राजदूत क्षेत्रीले नेपाललाई युएई सरकारले उपलब्ध गराएको राहत तथा सहयोगको प्रशंसा गर्दै नेपाल सरकारका तर्फबाट युएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो।

उक्त सहयोग प्राप्त हुनुमा युएईमा रहेका नेपाली समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नेपाली समुदायप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो।
उहाँले विपद्को समयमा नेपाललाई सहयोग गर्ने विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै युएईमा रहेका नेपालीहरूले खुला हृदयले गरेको मानवीय सहयोगको प्रशंसा गर्नुभयो।
बाढीले पुर्याएको क्षति र पीडाको स्मरण गर्दै आयोजित दीप प्रज्ज्वलन तथा शोकसभा दुःखको घडीमा नेपाल र नेपाली समुदायबीचको एकता, मानवीय संवेदना र सहयोगी भावनाको सशक्त अभिव्यक्ति बनेको थियो।
झापाली समाज युएईद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग
यसैबीच, झापाली समाज युएईले रसुवा बाढीपीडितका लागि करिब डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
युएईमा कार्यरत झापालीहरूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित १ लाख ४३ हजार ५२२ रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको झापाली समाज युएईका अध्यक्ष लोकेश कोइरालाले जानकारी दिएका छन्।
झापा जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता रहेको झापाली समाज युएईको खाताबाट उक्त रकम भदौ २२ गते सोमबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले बताए।
झापाली समाज युएईका कोषाध्यक्ष प्रेम अधिकारीको संयोजकत्वमा सञ्चालित सहयोग अभियानमा अबुधाबीबाट सूर्यबहादुर खवास, दुबईबाट ईश्वरनारायण तिवारी, सारजाहबाट विष्णु प्रसाईं, रास अल खैमाह (राक)बाट केशव कार्की, अल ऐनबाट प्रशान्त ताजपुरिया तथा नेपालबाट अशोक चापागाईंले समन्वय गरेका थिए । उनीहरूको समन्वयमा उक्त रकम संकलन गरिएको हो।

वैदेशिक रोजगारीका सिलसिलामा युएई पुगेका झापालीहरूले सन् २०१५ मा स्थापना गरेको झापाली समाज युएईले युएईमा कार्यरत तथा समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। यसका अतिरिक्त समाजले झापाका सबै स्थानीय तहबाट एक–एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक ५ हजार ५०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।
समाजले अक्षयकोष स्थापना गरी सो कोषबाट प्राप्त ब्याज रकममार्फत हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ। साथै, प्रत्येक जाडो मौसममा विभिन्न सरकारी विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडासमेत वितरण गर्दै आएको छ।
युएईको नेपाली सामाजिक परिवेशमा झापाली समाज युएई सक्रिय सामाजिक संस्था तथा मानवीय सेवामा निरन्तर योगदान गर्दै आएको संस्थाका रूपमा परिचित छ।
संस्थाले आर्थिक तथा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै नेपाली समुदाय र मातृभूमिसँग जोडिएका सामाजिक कार्यमा योगदान पुर्याउँदै आएको छ।


