२०८३ कार्तिक १ शनिवार , ०२:२१:२३ बजे

Sajhamanch
'

एकपटक आफूलाई त्यही ठाउँमा राखेर हेरौँ

सोमवार, भदौ २२, २०८३
  • सञ्जु सिवाकोटी

रसुवाको भोटेकोसीमा आएको हिमबाढीले ठूलो जनधनको क्षति गरेको छ । हामी सबैलाई थाहा भएकै कुरा हो, १३ सयभन्दा धेरैको ज्यान गइसकेको छ । हजारौं आज पनि न सास न लाशको अवस्थामा वेपत्ता छन् । बाँच्नको आधार नै खोसियो। मर्ने त मारेर गए तर बाँच्नेहरु ! आँखाको अगाडि संसार उजाडिएको देखेर विक्षिप्त बनेका छन्। हामी एक्र भूगोलभन्दा टाढा सुदुरपूर्वका कासिन्दाले पनि आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा बाढीपीडितका पीडादायी दृश्यहरू देखिरहेका छौँ । कतिपय महिलाहरू काखमा नानी च्यापेर रोइरहेको देखिरहेका छौं। चिच्याइरहेका छन्, पीडा पोखिरहेका छन् । सरकारसँग प्रश्न पनि गरिरहेका छन्। उनीहरूको त्यो आवाजमा आक्रोश छ, पीडा छ, भोक छ, निन्द्रा छ, भविष्यको चिन्ता छ, निराशा छ । अनि सबैभन्दा ठूलो कुरा त आमाहरुको वेदनाले धेरैको मन रुवाएको छ ।

हिजोसम्म उनीहरुको आफ्नै घर थियो । परिवार थियो। श्रीमान् थिए। छोराछोरी थिए । आफन्त थिए । वर्षौँदेखि दुःख गरेर जोडेको सम्पत्ति थियो । भोलिको भविष्यका लागि केही सपना थिए। तर आज ! आँखै अगाडि सबै चकनाचुर भएको छ। कसैको घर छैन। कसैको परिवार छैन। कसैले श्रीमान् गुमाएका छन्। कसैले छोराछोरी गुमाएका छन्। कसैले आफन्त र साथीभाइ गुमाएका छन्। कसैको वर्षौँको कमाइ र सम्पत्ति एकैछिनमा सबका सब बगेको छ । उनीहरूको मनमा हजारौं प्रश्न छन् ।कहाँ बस्ने, के खाने, के लगाउने, छोराछोरीलाई कसरी हुर्काउने, भोलिको जीवन कसरी चलाउने, यही ठाउँमा बस्ने या अन्तै जाने, जाने भए पनि कहाँ जाने, गुमाएका आफन्तको सम्झनासँग कसरी बाँच्ने । आदि आदि कुराहरुले बाँचेकाहरुको मन विक्षिप्त बनेको छ ।

यस्तो अवस्थामा एउटी आमाले आक्रोश पोखिन् सरकारलाई । प्रश्न गरिन् । आफ्नो पीडा पोखिन् । आफ्नो असन्तुष्टि व्यक्त गरिन् । सायद उनको दिमागले काम गर्न सकेन होला, त्यो स्वाभाविक पनि मान्नुपर्छ । बाँच्ने आधार नै नदेखेको बेला उनले सञ्चार माध्यममार्फत वेदना पोखिन् होला । तर यही बोलीका कारण उनले आज सामाजिक सञ्जालमा गाली खाइरहनु परेको छ । अपशब्द, गाली बेज्जती हेर्न र पढ्न नसक्ने गरीका शब्दहरु प्रहार भएका छन् । उनको पीडामाथि थप चोट पुगेको छ । के यो मानवता जीवित रहेको संकेत हो ? एकजना सर्वस्व लुटिएकी पिडीतले समाजसँग, सरकारसँग अनि राष्ट्रसँग हारगुहार गरिन् । के यो गलत हो त, होइन । तरपनि सामाजिक सञ्जालमा केही वर्षदेखि मौलाएको एउटा नयाँ प्रवृत्ति, जो छद्मनामबाट फोहोरी, अपाच्य शब्दहरु ओकलिरहेका छन् । उनीहरुले कसको लागि यसो गरिरहेका छन्, यो त उनै जानुन् ।

 

तर एकपटक सोचौं। कुनैपनि बेला यस्तै प्राकृतिक विपत्ति तपाईं (प्रवृत्ति)को घरमा आइपर्यो । घर बग्यो, छोराछोरी छुटे, श्रीमान् वा श्रीमती गुम्यो । हाम्रा आमाबुबा, दाजुभाइ, दिदीबहिनी वा आफन्त हामीबाट टाढिए । हामीले जीवनभर दुःख गरेर जोडेको सम्पत्ति एकैछिनमा समाप्त भयो । त्यो बेला तपाईंको दिमागले कति सोच्न सक्ला ? तपाईं कति संयमित रहन सक्नुहोला ? त्यतिबेला अरुले यसरी नै घाउमा नूनचुक छर्के भने !!!! ?????

पक्कै, तपाईंमात्र होइन, यस्तो पीडामा पर्ने जो कोही विचलित हुनेछौँ। हाम्रो बोलीमा पनि आक्रोश आउला । सायद हामीले पनि आफूले नसोचेका शब्दहरू बोल्न पो पुगौँला कि । आफ्नो परिवारको एउटा सदस्य गुमाउँदा पनि त्यो पीडाबाट बाहिर निस्कन महिनौँ, वर्षौँ लाग्न सक्छ। तर उनीहरूले त एउटा मानिस मात्र होइन, कतिपयले आफ्नो परिवार, घर, सम्पत्ति, आफन्त, छिमेक र आफ्नो सिङ्गो संसार नै गुमाएका छन्। त्यसैले अहिले उनीहरूलाई अपशब्द, गाली होइन, सहारा र हौसला, सहानुभूति अनि आशा र भरोसा चाहिएको छ।

हामी सबैले सरकारका कामको मूल्याङ्कन गर्न सक्छौँ। प्रश्न गर्न सक्छौँ। आलोचना पनि गर्न सक्छौँ। तर एउटा विपत्तिमा परेकी महिलाको पीडालाई लिएर उनलाई व्यक्तिगत रूपमा अपमान गर्नु त्यो मानवता होइन। बाढीपीडित सबैको भावना बुझौँ, उनीहरूको आँसुमा कमजोरी नखोजौँ, उनीहरूको आक्रोस देखेर चरित्रमाथि प्रश्न नगरौँ। उनीहरुको शब्दमा गल्ती खोज्नुभन्दा पहिले पीडाको गहिराइ बुझ्ने प्रयास गरौँ। किनकि विपत्ति कसैलाई सोधेर आउँदैन। आज उनीहरूको घरमा आएको विपत्ति भोलि हाम्रो घरमा पनि आउन सक्छ। आज उनीहरूलाई परेको दुःख भोलि हामीले पनि भोग्नुपर्ने हुन सक्छ । नराम्रो बोल्नुअघि एकपटक आफूलाई उनीहरूको ठाउँमा राखेर हेरौँ, पीडा बुझौँ, पीडामाथि प्रहार नगरौँ, पीडामा मल्हम लगाऔँ। विपत्तिको समयमा हाम्रो सबैभन्दा ठूलो परिचय भनेको नै मानवता हो ।

सम्बन्धित खबर