
बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थामा आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।
संस्थाले गत साउन ३० गते सूचना प्रकाशन गरी सुरु गरेको निर्वाचन कार्यक्रमअन्तरगत आज भदौ २० गते उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरिएको हो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता सुधिर सुवेदीका अनुसार संस्थाको सञ्चालक समितिमा ९ जना र लेखा सुपरीवेक्षण समितिका लागि ३ जना गरी १२ जना नेतृत्व चयन गर्न निर्वाचन कार्यक्रम सञ्चालन गरिएको हो ।
उहाँका अनुसार उम्मेदवार बन्न इच्छुक सेयर सदस्यहरुले हिजो मनोनयन दर्ता फारम बुझिलैजानु भएको र आज मनोनयन दर्ता भइरहेको हो ।
उहाँका अनुसार सञ्चालक समितिको अध्यक्षमा यामकुमार चुडाल र उपाध्यक्षमा दिनेशकुमार सुवेदीको मात्रै उम्मेदवारी परेको छ । उहाँहरु दुवैजना हाल सोही पदमा कार्यरत हुनुहुन्छ ।

हिजो उम्मेदवारी मनोनयनका लागि १८ जनाले मनोनयन फारम लैजानु भएको र आज २० गते ३ बजेसम्म मनोनयन दर्ता गर्ने अवधि रहेको निर्वाचन समितिले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म हिजो मनोनयन फारम बुझिलैजाने अधिकांश पदहरुमा उम्मेदवारी दर्ता भएको छ भने केही मनोनयन दर्ता हुन बाँकी रहेको जनाइएको छ । आज अपरान्ह सबै उम्मेदवारहरुको प्रथम नामावलि प्रकाशन गरिने निर्वाचन कार्यक्रममा उल्लेख छ ।
झापाको कनकाई माईपूर्वका लगभग सबै भूगोलमा कार्यक्षेत्र विस्तारित सो संस्थामा गत असार मसान्तमा २ हजार ६४८ सेयर सदस्यहरु रहेका छन् । संस्थाको सेयर पूँजी ४ करोड १५ लाख ५३ हजार ८०० रुपैयाँ छ भने विभिन्न जगेडा कोषहरुमा ४ करोड ७० लाख ५० हजार ७०० रुपैयाँ जम्मा भएको अध्यक्ष यामकुमार चुडालले बताउनु भएको छ ।

संस्थाले सदस्यहरुबाट ३७ करोड २७ लाख ७० हजार ९४२ रुपैयाँ निक्षेप संकलन गरेको छ भने वासलात अंक ४७ करोड ३५ लाख ९८ हजार १५४ रुपैयाँ पुर्याइएको छ ।
संजिवनीले आफ्नो १९औं वार्षिक साधारणसभा यही असोज १० गते बिर्तामोडमा आयोजना गरेको छ ।



