२०८३ कार्तिक १ शनिवार , ०३:२६:२४ बजे

Sajhamanch
'

धर्म–संस्कृति संरक्षणमा लक्ष्मीनारायण भजन कीर्तन मण्डली

शनिवार, भदौ २०, २०८३

कमल । धार्मिक तथा सांस्कृतिक गतिविधि मार्फत समुदायमा आपसी सद्भाव, एकता र सकारात्मक संस्कार प्रवर्र्धन गर्दै आएको झापाको केरखास्थित श्री लक्ष्मीनारायण भजन कीर्तन मण्डलीको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कमल गाउँपालिका वडा नं. ३ शिवालय डाँडाटोलस्थित मण्डलीले शुक्रबार साँझ आयोजित साधारण सभाको उद्घाटन कमल गाउँपालिका ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले गर्नु भएको थियो ।

सभाको उद्घाटन पछि मन्तव्य व्यक्त गर्दै भजन–कीर्तनले धार्मिक आस्था मात्रै नभई समाजमा आपसी भाइचारा, सद्भाव र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष कोइरालाले बताउनु भयो ।

आधुनिकताको प्रभावसँगै मौलिक धर्म, संस्कार र संस्कृति कमजोर हुँदै गएको अवस्थामा यस्ता मण्डली तथा धार्मिक संस्थाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने उहाँको सुझाव थियो । सामाजिक सेवाका क्षेत्रमा समेत भजनमण्डलीले आफ्नो भूमिका विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समुदायमा सकारात्मक सोच र सहकार्यको वातावरण निर्माण गर्न यस्ता संस्थाको योगदान महत्वपूर्ण हुने वडाध्यक्ष कोइरालाको भनाई थियो ।

मण्डलीका अध्यक्ष लोकनाथ भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा मण्डलीले वर्षभरि सञ्चालन गरेका विभिन्न धार्मिक तथा सामाजिक गतिविधि, संस्थागत प्रगति, सदस्यहरूको सहभागिता तथा आगामी योजनाका विषयमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

मण्डलीका सदस्य पण्डित गंगाराम रिमालले सञ्चालन गर्नु भएको कार्यक्रममा सचिव भुवन भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाको आर्थिक अवस्था, आम्दानी तथा खर्च लगायतका विवरण सभामा प्रस्तुत गर्दै आर्थिक पारदर्शिता र संस्थागत अनुशासनलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।

साधारण सभामा मण्डलीलाई विभिन्न समयमा सहयोग गर्ने तथा संस्थाका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने तीन दर्जनभन्दा बढी सदस्य तथा सहयोगीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सम्मानित तथा पुरस्कृत व्यक्तिहरूले मण्डलीको धार्मिक तथा सामाजिक अभियानमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मान तथा पुरस्कार वितरणले मण्डलीका सदस्य तथा सहयोगीहरूलाई आगामी दिनमा अझ सक्रिय भएर संस्थागत तथा सामाजिक कार्यमा लाग्न थप प्रेरणा मिलेको सम्मानित मध्येमा कमलप्रसाद घिमिरेले बताउनु भयो ।

सहभागीहरूले धार्मिक तथा सांस्कृतिक संस्थाले समाजमा सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै मण्डलीका आगामी कार्यक्रमलाई सफल बनाउन सामूहिक सहयोग र सहकार्य आवश्यक रहेको उक्त कार्यक्रमका वक्ताहरुले धारणा राख्नु भएको थियो ।

नवौँ वार्षिक साधारण सभाले मण्डलीको विगतको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा धार्मिक जागरण, भजन–कीर्तन, सामाजिक सेवा, सांस्कृतिक संरक्षण र समुदायमा आपसी सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता गरेको जनाइएको छ ।

सम्बन्धित खबर