
काठमाडौं । भदौ १० गतेको भोटेकासी बाढीमा परेर हालसम्म १ हजार २९४ जनाको निधन भएको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परेर मृत्यु भएका १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो।
बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए। उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४ हजार ६२७ जना व्यक्तिहरू आश्रयमा रहेको पनि जानकारी दिए।
बाढीका कारण ७ हजार ५७० घर पूर्णरूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२ हजार ९३३ जनसंख्या प्रभावित भएको प्रारम्भिक आंकलन रहेको उनले बताए।
त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किमी सडक पूर्णरूपमा क्षतिग्रस्त भएको ३७ मोटरेबल पूल र ६८ झोलुङ्गे पूलमा क्षति पुगेको जानकारी दिए।
त्यस्तै १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने आँकलन गरिएको प्राधिकरणले जानकारी दिएको छ। बाढीका कारण ३ वटा जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति हुँदा ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।


