२०८३ कार्तिक १ शनिवार , ०२:१७:१६ बजे

Sajhamanch
'

संखुवासभामा गोली हानेर एक शिक्षकको हत्या

शुक्रवार, भदौ १९, २०८३

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा– १ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार गएराति ७ बजे शिक्षक राईको गोली प्रहारबाट हत्या भएको हो ।

गोली प्रहारबाट शिक्षक राईको देब्रे कोखमा रगत बगेको देखिएको छ । कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किए पछि बरुवा बन्दुक प्रहार भएको पाइएको हो ।

बन्दुकको आवाजसँगै उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ ।

शिक्षक राईमाथि भरुवा बन्दुकको गोली प्रहार भएको घटनाको कसले के कारण हानेको थियो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थल तर्फ लागेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दुरीमा पर्दछ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर