
काठमाडौं । सरकारले रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ ।
बिहीबार आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो ।

भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको उनले बताए । सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको छ ।
निर्णयमा भनिएको छ : रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।


