२०८३ भदौ २१ आइतवार , ०८:५९:५८ बजे

Sajhamanch
'

कमलमा लागूऔषध दुव्र्यसन सम्बन्धी प्रहरीको सचेतना कार्यक्रम

मङ्गलवार, भदौ १६, २०८३
  • उमानाथ भण्डारी

कमल । झापाको कमल गाउँपालिकामा लागूऔषधको बढ्दो दुरुपयोग तथा त्यसबाट सिर्जना हुने सामाजिक, पारिवारिक र आपराधिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले आज लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा भएको कार्यक्रममा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत लागूऔषध नियन्त्रण तथा रोकथामका विषयमा सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया भएको हो ।

नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयलका शिक्षकबीच भएको कार्यक्रममा लागूऔषध विरुद्ध अभियानलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख एसपी बसुन्धरा खड्काले लागूऔषधको प्रयोगले व्यक्ति, परिवार हुँदै समग्र समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराइन् ।

पछिल्लो समय किशोर किशोरी तथा युवा पुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच निरन्तर समन्वय तथा सहकार्यको आवश्यक रहेको एसपी खड्काको धारणा थियो ।

नेपाल प्रहरीले पछिल्लो समय ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको बताउँदै समुदायसँग प्रहरीको सम्बन्धलाई थप मजबुत बनाउँदै स्थानीय स्तरमा देखिएका लागूऔषध विरुद्धको अभियानलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि समुदाय, विद्यालय, स्थानीय तह, अभिभावक तथा सामाजिक संघ संस्थासँगको सहकार्यलाई निरन्तरता दिइने एसपी खड्काले बताइन् ।

लागूऔषधको प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै पारिवारिक सम्बन्धमा समस्या, आर्थिक संकट, मानसिक तनाव र विभिन्न प्रकारका आपराधिक गतिविधि बढ्न सक्ने भएकाले यसको रोकथाम र न्यूनीकरणमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आवश्यकता औंल्याए ।

कार्यक्रमममा सामुदायिक विध्यालयका तर्फबाट बद्री कार्की, प्याब्सन कोशी प्रदेशका सचिव गौरीमान फागो, एन–प्याब्सनका तर्फबाट तुलसा खड्का लगायतले अभिभावकले आफ्ना बालबालिका तथा युवाको व्यवहारमा आएको परिवर्तनलाई समयमै पहिचान गर्ने, उनीहरूसँग खुला संवाद गर्ने र समस्या देखिए सम्बन्धित निकायसँग सहयोग र समन्वय गर्नु पर्नेमा जोड दिए ।

सम्बन्धित खबर