
झापा । नेपाल कै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बेलबारी नगरपालिका– ६, मोरङका सूर्यप्रसाद रिमाल नियुक्त भएका छन् । एनएमसीको सञ्चालक समितिको भदौ १० गतेको बैठकले असोज १ गतेदेखि लागू हुनेगरी रिमाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
विगत १५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत थिए । रिमाल प्राध्यापनसमेत गर्दछन् ।
एनएमसीमा लामो समय प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेका लक्ष्मीप्रसाद उप्रेती राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा निर्वाचित भएपश्चात् गत जेठबाट एनएमसीको उक्त पद खाली थियो ।
सहकारी ऐन २०७४ को संशोधन तथा सहकारी नियमन प्राधिकरणको नयाँ मापदण्डले कुनै पनि व्यक्ति सहकारीमा दोहोरो जिम्मेवारीमा काम गर्न पाउँदैन । सोही प्रावधानलाई पछ्याउँदै उप्रेतीले सिइओबाट राजीनामा दिएका थिए ।
रिक्त रहेको प्रमुुख कार्यकारी अधिकृत पदपूतिका लागि संस्थाले गत असार १५ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । असार मसान्तसम्म समय सीमा निर्धारण गरी आवेदन माग गरिएकोमा तोकिएको समयमा दर्ता भएका आवेदनहरुमध्ये संस्थाले तोकेको मापदण्ड बमोजिम प्रारम्भिक सूची (सर्ट लिस्ट) गरिएको थियो ।
प्रारम्भिक सूचीमा पर्न सफल ९ जना उम्मेद्वारहरुका बीच भदौ ६ र ७ गते व्यावसायिक योजना प्रस्तुति तथा अन्तर्वार्ता सम्पन्न गरिएकोमा अन्य उम्मेद्वारहरुलाई पछि पार्दै रिमाल प्रमुख कार्यकारी अधिकृत पदका लागि छनोट हुन सफल भएका संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।
देशकै प्रमुख सहकारी संस्थाहरु मध्येको एक एनएमसीले बचत तथा ऋण, डेरी उद्योग, एनएमसी एग्रो फार्म, सहकारी पसल व्यवसाय र चिया उद्योग सञ्चालनमा रहेको छ । एकलाख ७० हजारभन्दा बढी सदस्य रहेको संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ रहेको छ ।


