२०८३ भदौ २१ आइतवार , ०८:४७:५१ बजे

Sajhamanch
'

१६ गते खुल्ने सरकारको बिल चिट्ठा कार्यक्रम जारी रहन्छ कि रोकिन्छ ?

मङ्गलवार, भदौ १६, २०८३

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ अनुसार वस्तु तथा सेवा खरिद बिक्रीमा बिल बीजकको लेनदेनको संस्कृति विकास गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यका साथ सरकारले चालू आर्थिक वर्षको साउनमा प्रत्येक १५ दिनमा चिठ्ठा मार्फत् करदाता प्रोत्साहन कार्यक्रम गर्दै आएकोमा भोटेकोशी बाढीको वितण्डाले यो कार्य तत्काललाई अन्योलमा पारेको छ ।

मुलुकको विषम परिस्थितिका कारण आज खोल्ने चिठ्ठा कार्यक्रम अन्योलमा परेको हो । आन्तरिक राजस्व विभागका प्रवक्ता केशव रघुवंशीले आज खोल्ने भनिएको चिठ्ठाको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन्।

उनले के गर्ने भन्ने बारेमा अझै जानकारी आइनसकेको जानकारी दिए। यता अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले आफूलाई यसबारे जानकारी नभएको बताए। ‘अहिले स्थगितको बारेमा मन्त्री स्तरबाट कुनै जानकारी दिइएको छैन’ उनको भनाइ छ।

विभागका प्रवक्ता रघुवंशीका अनुसार देशमा ठूलो विपत्ति आइलागेकोले केही समय रोक्नु पर्ने आफ्नो व्यक्तिगत धारणा रहेको बताए। यद्यपि यसको अधिकार मन्त्री स्वर्णिम वाग्ले र अर्थमन्त्रालयमा हुने हुँदा आफूले केही भन्न नसक्ने उल्लेख गरे।

सरकारले साउन महिनामा २ पटक चिठ्ठा खोलेको थियो। जस अनुसार २ जनाले १० लाख तथा ३० जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए। २५ प्रतिशत आकस्मिक लाभकर कटाएर उनीहरूले जनही एक लाख रुपैयाँ पाए भने
बम्परमा १० लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको थियो त्यसमा २ जनाले २५ प्रतिशत कर कटाएर विजेताले ७ लाख ५० हजार रुपैयाँ पाएका थिए ।

तर सरकारले बजेटमार्फत् वर्षभरका लागि घोषणा गरेको बिल चिट्ठा कार्यक्रम तत्काल के गर्ने भन्ने सर्वत्र चासो र जिज्ञासा रहेको पाइएको छ ।