
भद्रपुर । भद्रपुरमा हिजोआज दुले चोरको बिगबिगी बढेको छ । भद्रपुरमा दिनहुँजसो चोरीका घटना भइरहेका हुन् ।
बिहीबार बिहान २ देखि ३ः३० को बीचमा भद्रपुर–४ लक्ष्मीनगर टोलमा तीन घरमा एकैपटक चोरी भएको स्थानीयले जानकारी दिएका छन् ।
विवरण अनुसार स्थानीय रोहित काफ्लेको सामसुङ ए–२६ मोवाइल, काफ्लेको घरसँगै टाँसिएको घरमा गीता कार्कीको रेडमी मोवाइल र करिब १८ हजार रुपैयाँ नगद र केही दक्षिण–पश्चिम थापाको घरमा रेडमी मोवाइल र करिब ९ हजार रुपैयाँ नगद चोरी भएको हो ।
ती सामग्री मान्छे सुतिरहेको खाटको सिरानबाटै चोरी भएको बुझिएको छ ।
चोरीका सम्बन्धमा महेशपुर प्रहरी चौकीमार्फत वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइएको पीडित रोहित काफ्लेले जानकारी दिए ।
केही दिनअघि भद्रपुर ४ कै बिमल घिमिरेको र भद्रपुर ६ मा एकजना खतिवडा थरका व्यक्तिको मोवाइल चोरी भएको थियो ।
यसरी दिनहुँजसो मोवाइल लगायतका सामान र नगदसमेत चोरी हुन थालेपछि लक्ष्मीनगर टोलका बासिन्दा त्रसित बनेका छन् ।
स्थानीयले रात्रिकालीन प्रहरी गस्ती बढाउन प्रहरी–प्रशासनसँग आग्रह गरेका छन् ।


