
गाउँपालिका स्वास्थ शाखाकाे आयाेजनामा गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाह तथा उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न भएको हाे ।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।
स्वास्थ क्षेत्र नागरिकका लागि आधारभूत आवश्यकता र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर स्थानीय नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै गाउँघरमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ स्वास्थ्य पूर्वाधार, आवश्यक उपकरण, दक्ष जनशक्ति तथा सेवाको विस्तारमा गाउपालिकाकाे तर्फबाट निरन्तर जोड दिइएको अध्यक्ष राईले बताउनु भयाे ।
वार्षिक समीक्षाले विगतका उपलब्धिहरूको मूल्याङ्कन मात्र नभई सेवा प्रवाहका क्रममा देखिएका कमजोरी तथा चुनौतीहरूको पहिचान गरी आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
“स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक उपलब्धिलाई थप सुदृढ गर्दै नागरिकले महसुस गर्ने गरी सेवा विस्तार गर्नु हाम्रो साझा दायित्व हो” अध्यक्ष राईले बताउनुभयो।
वार्षिक समीक्षा कार्यक्रममार्फत गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशामाथि विस्तृत छलफल गरिएको थियो।
स्वास्थ्य क्षेत्रमा विगत एक वर्षमा भएका कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपकप्रसाद दहालले जानकारी दिनुभयो।
समीक्षा कार्यक्रममा गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य सेवा, कार्यक्रम, उपलब्धि, समस्या तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।
नियमित खोप, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित प्रसूति सेवा, पोषण, परिवार नियोजन, सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्यलगायतका महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूको समेत समीक्षा गरिएको थियो।
कमल गाउँपालिकाले पछिल्लो समय स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न नयाँ तथा विशेषज्ञ सेवाहरू विस्तार गर्दै आएको छ।
नगर अस्पतालमार्फत सुरक्षित प्रसूति, प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे (USG), स्वास्थ्य बीमालगायतका सेवाको विस्तारसँगै नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास भइरहेको छ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, साझेदार संस्थाहरू फेयरमेड, सहारा नेपाल र एनएलएफ, निजी क्षेत्रबाट भृकुटी अस्पतालका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रम फोकल पर्सन विश्वनाथ श्रेष्ठले गर्नुभएको थियो।
सहभागीहरूले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, सेवा प्रवाहका क्रममा देखिएका चुनौती तथा आगामी दिनमा स्थानीय तह, स्वास्थ्य संस्था र साझेदार निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत धारणा राखेका थिए।
कार्यक्रमको समापन गर्दै कमल गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा आत्मसात गर्दै आगामी दिनमा पनि गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र प्रभावकारी स्वास्थ्य सेवा विस्तारलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमले कमल गाउँपालिकाको स्वास्थ्य क्षेत्रको समग्र अवस्थाको मूल्याङ्कन गर्नुका साथै आगामी आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित, परिणाममुखी र नागरिकमैत्री बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।


