
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ–संस्थालाई अनुरोध गरेका छन् ।
उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका हुन् ।
रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बनाएको उनले उल्लेख गरेका छन् ।
बाढी प्रभावितको उद्धार र राहतमा परिचालित हुन कार्यकर्तालाई एमालेको निर्देशन
नेकपा एमालेले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका बाढी प्रभावितहरुको उद्धार कार्यमा परिचालित हुन पार्टीपंक्तिलाई निर्देशन दिएको छ । च्यासलमा आज अपरान्ह बसेको सचिवालय बैठकले तत्काल उद्धार कार्यमा परिचालित हुन निर्देशन दिने निर्णय गरेको हो ।

‘सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपंक्तिमा रहेर खटिन विशेष निर्देशन गर्दछु’ एमालेको बक्तव्यमा भनिएको छ ।
कांग्रेसले भन्यो– विपद्मा सरकारका हरेक प्रयासमा पूर्ण साथ र सहयोग रहन्छ
नेपाली कांग्रेसले विपद्को समयमा सरकारले गर्ने प्रयासमा पूर्णसाथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तो प्रतिवद्धता जनाएको हो ।
कांग्रेसले नागरिकको जीवन संकटमा परेको घडीमा सरकार, प्रतिपक्षी राजनीतिक दलहरू, संघ–संस्था, निजी क्षेत्र, नागरिक समुदाय सबैको एकमात्र साझा कर्तव्य उद्धार र राहत भएको बताएको छ ।

‘अतः अन्य कुरा थाति राखेर सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा केन्द्रीत गर्न सरकारलाई आग्रह गर्दै यो बैठक विपद्को यो घडीमा सरकारको हरेक प्रयासमा नेपाली कांग्रेस पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछ’ बैठकको निर्णयमा भनिएको छ ।
कांग्रेसले विपद्को अवस्थामा पार्टीका सदस्यहरूलाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न, आरोप प्रत्यारोप नगर्न र उद्धार–राहत तथा व्यवस्थापन कार्यमा मात्र लाग्न आग्रह पनि गरेको छ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं प्रभावित भू–गोलका सदस्यहरू अन्य कार्यक्रममा सहभागी नरहेर बाढीबाट उत्पन्न संकटमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा सम्पूर्ण रुपले केन्द्रित रहने निर्णय पनि बैठकले गरेको छ ।
बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा ध्यान दिन मानव अधिकार आयोगको अपिल
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार र पुनःस्थापनाको ध्यान दिन राष्ट्रिय मानव अधिकार आयोगले अपिल गरेको छ । आयोगले आज बुधबार दिउँसो विज्ञप्ति जारी गरी घटनाप्रति दुःख प्रकट गरेको हो ।

‘ठूलो सङ्ख्यामा नागरिक, सुरक्षाकर्मी, कर्मचारी, आन्तरिक तथा बाह्यय पर्यटकहरूको मृत्यु भएको, कैयौँ व्यक्तिहरु बेपत्ता तथा घाइते भएको एवं भौतिक संरचनामा ब्यापक क्षति पुगेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
उद्धार तथा पुनःस्थापनाको कार्यमा आ–आफ्नो स्थानबाट योगदान गर्न नेपाल सरकार, राजनैतिक दल, कर्मचारीहरु, आम नागरिक, सुरक्षाकर्मी सबैमा आयोगले अपिल गरेको छ ।


