
हेटौंडा । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कोरपियो मकवानपुरको जुराखेलमा दुर्घटना भएको छ ।
मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नं. ६ जुरीखेलमा स्कोरपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कोरपियो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
आज बिहान ७ बजे भएको दुर्घटनामा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

घाइते हुनेहरुमा मुख्य न्यायाधीश दाङ तुलसीपुर उपमहानगरपालिका ९ बस्ने वर्ष ५७ का गोकर्ण डाँगी (टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम) रजिष्टार बैतडी दशरथचन्द नगरपालिका ७ सुर्काल बस्ने वर्ष ५१ का तारादत्त बडु (शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम), उनकी श्रीमती वर्ष ४९ की लक्ष्मी बडु (टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर), उनका छोरा वर्ष २५ का रितेन्द्र बडु (टाउकोमा चोट, अवस्था मध्यम), छोरी वर्ष ३१ की रिता बडु (टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम) र चालक दाङ राप्ती नगरपालिका ८ बस्ने वर्ष ३२ का छुनिलाल चौधरी (टाउको र शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम) रहेका छन् ।
घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।


