
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको भूगोलमा बसोबास गर्ने काफ्ले बन्धुहरुको आइतबार भएको भेलाले काफ्ले समाज अर्जुनधारा नगर कार्यसमिति गठन गरेको छ ।
काफ्ले समाज झापाका अध्यक्ष नारायणप्रसाद काफ्लेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेशका संयोजक दुर्गा खनाल काफ्लेको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न गरिएको हो ।
भेलाको संयोजन केन्द्रीय उपाध्यक्ष तोयानाथ काफ्ले र कोशी प्रदेश उपाध्यक्ष टुम्मनाथ काफ्लेले गर्नुभएको थियो ।
भेलाले अर्जुनधारा नगरपालिका वडा नं. ४ निवासी खेमबहादुर काफ्लेको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा वडा नं. ३ का छवि काफ्ले र वडा नं. ७ का बिमला खतिवडा काफ्ले, सचिवमा वडा नं. ६ का राजेन्द्र काफ्ले, सहसचिवमा वडा नं. ११ का चूडामणि काफ्ले र कोषाध्यक्षमा वडा नं. ६ का सिता दाहाल काफ्ले चयन हुनुभएको छ ।
कार्यसमितिका सदस्यहरुमा वडा नं. १ का ममता गुरागाईं काफ्ले, वडा नं. ३ का देबीबहादुर काफ्ले र प्रकाश काफ्ले, वडा नं. ५ का डिल्लीराम काफ्ले, वडा नं. ६ का चन्द्रप्रसाद काफ्ले, वडा नं. ७ का राजेन्द्र काफ्ले, वडा नं. ९ का धर्मप्रसाद काफ्ले र सुनिता नेपाल काफ्लेलाई चयन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय उपााध्यक्ष दुर्गा खनाल काफ्लेले काफ्ले समाजको विधान २०५९ को अनुसूची ५ धारा ४० अनुसार व्यवस्था गरिएको सपथग्रहण गराउनु भएको थियो ।
काफ्ले समाज कोशी प्रदेश कार्यसमितिका पूर्व सदस्य चतुर्भुज काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय सचिव गोपाल काफ्लेले बन्धुहरु संगठित हुनुपर्ने आवश्यकता, वंशावलीको महत्व एवम् घरधुरी सर्वेक्षण सम्बन्धी आफ्ना धारणा राख्नु भएको थियो ।

काफ्ले समाज, काफ्ले बन्धु कल्याण समिति र काफ्ले बन्धु समाजको साझा अवधारणा काफ्ले बन्धु समाज नेपालको ब्यानरमा आयोजित भेलाबाट गठित नयाँ कार्यसमितिलाई जिल्ला अध्यक्ष नारायणप्रसाद काफ्लेले माइन्युट पुस्तिका, जनगणना तथा घरधुरी सर्वेक्षण फारम आदि हस्तान्तरण गर्नुभएको थियो ।
केन्द्रीय उपाध्यक्ष तोयानाथ काफ्लेले नेतृत्व चयन प्रक्रियालाई मूर्तरुप दिनुभएको थियो भने कोशी प्रदेश उपाध्यक्ष टुम्मनाथ काफ्लेले सहभागीहरुलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।


